
२२ भाद्र काठमाण्डाै । गृह मन्त्रालयको विज्ञप्तिप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावना विपरीत आएका दुई वटा विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासङ्घको ठहर छ ।
मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासङ्घ प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर रहेको भन्दै महासङ्घले गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन माग गरेको छ ।
महासङ्घले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।




karnalipress
२२ भाद्र २०७८, मंगलवार २०:०६