प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

माघ ५, कालिकोट। कालिकोटमा कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ कालिकोटको आयोजनामा पहिलो पटक प्रदेशकै ठुलो पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

जिल्ला सदरमुकाम मान्मको कवड हलमा माघ २६ गतेदेखि हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै उपविजेताले ३० हजार १ सय ११ र सेमिफाइनल सम्म पुग्ने दुई जोडीले १५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक संघले जनाएको छ।

ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र बहादुर शाही नगद पुरस्कारका साथै मेडलको पनि व्यवस्था गरिएको जानकारी दिए। ‘जिल्लामा नियमित ब्याडमिन्टन प्रतियोगिता हुने गरेपनि यति ठुलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक हुन लागेको हो।’ अध्यक्ष शाहीले भने।

प्रतियोगिताले ब्याडमिन्टन खेलाडीहरू उत्पादनमा सघाउ पुग्ने आयोजक संघले विश्वास लिएको छ। संघले कालिकोटबाट केन्द्रसम्म प्रतिस्पर्धा गराउने र ब्याडमिन्टनलाई निरन्तरता दिने उद्देश्य लिएको उनले जानकारी दिए।

प्रतियोगितामा कर्णालीका सबै जिल्लाबाट खेलाडीहरुले टिम दर्ता गरी सहभागी हुन पाउने आयोजक संघले बताएको छ। कर्णाली प्रदेशका कालिकोट, जुम्ला, जाजरकोट, दैलेख, सल्यान, सुर्खेत लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने बताइएको छ।

टिम दर्ता शुल्क तीन हजार राखिएको जिल्ला ब्याडमिन्टन संघका सचिव विनोद शाहीले जानकारी दिए। उनका अनुसार प्रतियोगिता माघ २६ देखि २८ गते सम्म चल्नेछ।