खाँडाचक्रले ल्यायो ५३ करोड बजेट

कालीकोटको खाँडाचक्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ५३ करोड ५५ लाख ५५ हजार ९२० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १४औँ नगरसभा नगर प्रमुख कमल बहादुर शाही,नगर उपप्रमुख गणेश बहादुर शाहीले बजेट प्रस्तुत गरे ।

बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको छ। नगर प्रमुख शाहीका अनुसार जनताको आवश्यकता र स्थानीय विकासको आवश्यकतालाई ध्यानमा राख्दै बजेट विनियोजन गरिएको हो। यस वर्षदेखि ‘नमुना वडा समाजवादी कार्यक्रम’ सञ्चालनमा ल्याइने घोषणा गरिएको छ।

नगर प्रमुख शाहीले समाजमा समावेशी, न्यायपूर्ण र समान अवसरको आधारमा विकासलाई अघि बढाउने उद्देश्यले कार्यक्रम थालिएको बताए। नगरपालिकाले विगतका प्रभावकारी योजना र कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। साथै, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, आधारभूत सेवामा पहुँच पुर्याउने र पारदर्शी शासन प्रणालीलाई मजबुत बनाउने योजनामा पनि बजेट केन्द्रित गरिएको छ।