
ललित विष्ट,पुस १३,कालीकोट । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपछि कालीकोटको रास्कोट नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन थालेको छ। भौतिक पूर्वाधारको निर्माणसँगै विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन,शिक्षक जनशक्ति व्यवस्थापन,जस्ता कार्यले सामुदायिक विद्यालयको नतिजा सुधार हुँदै गएको हो ।
रास्कोट नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको नगर प्रमुख धर्मराज शाही पोषण बताउँछन् । रास्कोटलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुरुप गुणस्तर सुधार,आवश्यक भौतिक पूर्वाधार निर्माण, योग्य र दक्ष जनशक्ति ब्यवस्थापन,विषयगत शिक्षक पूर्ति,अयोग्य शिक्षकहरुको बहिर्गमन,मर्यादित परीक्षा प्रणालीको विकास लगायत कामहरु थालिएको छ । अभिभावकले ढुक्क भएर रास्कोटका विद्यालयमा आफ्ना नानीबाबु पढाउन सक्ने वातावरण निर्माण गर्न आफू लागिपरेको नगर प्रमुख शाहीको भनाइ छ ।
चालू आर्थि बर्षमा रास्कोट नगरपालिकाले थुप्रै कामहरु गरेको छ । गरपालिकाले नगर शिक्षा ऐन,स्थानिय पाठ्यक्रम निर्माण,शिक्षक काज सरुवा सम्बन्धी कार्यविधि, प्रध्यानाध्यपन ब्यवास्थापन कार्यबिधि,कक्षागत शिक्षक व्यवस्थापनको लागी विद्यालय मर्ज,विद्यालय नर्श,बिद्यालय सुरक्षा गार्ड,कक्षा १ देखी पाँच सम्मका विद्यालयमा अंगेरीमाध्याम द्धारा कार्यक्रम,जस्ता नितिगत निर्णय गरी शिक्षा सुधारको अभियान थालेको हो । छात्राहरुलाई सामुदायिक विद्यालयमा नियमित गराउनका लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड वितरण कार्यक्रम कार्यान्वयन भएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थिको कमजोर अवस्थालाई बलियो बनाउन नितिगित निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए । पछिल्लो समय निजि शिक्षा संस्थाहरुमा विद्यार्थी भर्ना हुने र सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन हुने देखिएकाले नगरपालिकाले यस्ता नितिगत निर्णयहरु गरेको उनले बताए । अहिले नगरले गरेका नितिगत निर्णय कार्यन्वयन भइरहेका छन । गत वर्षभन्दा यो वर्षदेखी रास्कोटका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना संख्या दोव्वरले बृद्धी भएको शाखा प्रमुख शाहीको भनाई छ ।
रास्कोट नगरपालिकामा आवासीय विद्यालय,विज्ञान प्रयोगशाला,हरित विद्यालय,नमूना कक्षाकोठा,महिनावारी स्वच्छता कक्ष,लैगिंक मैत्री शौचालयले शिक्षा क्षेत्र निकै प्रभावकारी रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । यो पालिकामा शैक्षिक सुधारका लागि जनप्रतिनिधि, शिक्षक,अभिझावक संघसंस्था सबैको सहकार्य देखिएको उनले बताए । गत साता अनुगमनमा रास्कोट पुगेका प्रजिअ सुयलले शिक्षामा सुधार गर्न विद्यालयको पढाईसँगै अभिभावकको पनि चासो हुनुपर्ने बताए।
एसईई लक्षित अतिरिक्त कक्षा सुरु
रास्कोट नगरपालिकाका ४ वटै मा.वि विद्यालयका ३ सय ९ जना विद्यार्थीलाई वर्षदेखि एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाईका अतिरिक्त बिहान बेलुकी थप तयारी कक्षा संचालन गरिरहेको छ । रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले एसईई नतिजा सुर्धाने उद्देश्यले चार वटै मा.विलाई आवासीय कक्षा चलाउन लगाइएको बताए ।
आर्थिक रुपमा विपन्न केही विद्यार्थीका लागि विद्यालयले शुल्क कक्षा पनी गरेको छ । अनुसार मासिक ४ हजार शुल्क तिर्ने गरी बडीमालिका मावि रास्कोटले ५६ छात्र र ४८ छात्रा गरी १ सय ४, कालाशिल्ला माविले ४४ छात्र र ३७ छात्रा गरी ८१ जनालाई प्रतिविद्यार्थी मासिक ४ हजार ९ सय ५० शुल्क,जनजागृति मावि फुकोटले ३७ छात्र र ४४ छात्रा गरी ८१ जनालाई मासिक ४ हजार शूल्क तोकेर एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरे छ ।
नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी, दाउरा पनि उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । मोतीराम मावि सिप्खानाले २० छात्रा र २३ छात्र गरी ४३ जनाबाट नगद ३ हजार रुपैयाँ र १५ केजी चामल र २ केजी दालका दरले उठाइरहेको छ । आवासीय विद्यालयमा लागि नगरपालिकाले प्रतिविद्यालय २ लाख र द्रुत सिकाई अन्र्तगत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा संचालित सशक्त बालिका परियोजनाले ५० हजार रुपैयाँका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् भने विद्यार्थीले आफ्नो खाना र अन्य खर्च आफै जुटाउने छन् ।
२०७८ सम्म ५० प्रतिशतभन्दा कम विद्यार्थी पास हुने बडिमालिका माविले आवासीय सुविधासहित विद्यार्थीलाई पढाउन थालेपछि २०७९ देखि एसइई नतिजा क्रमश सुधार हुँदै आएको प्रधानाध्यापक पुष्पराज बरालले बताए । उनका अनुसार आवासीय सुविधामा शिक्षक र विद्यार्थी राखेपछि २०७९ मा ६३ मा ४३, २०८० मा ४० मा ३९ र २०८१ मा ५९ मा ४८ जना पास भएका थिए । उनले ३० प्रतिशतमा रहेको सक्षमता दर यसवर्ष बृद्धि गरेर ५० प्रतिशत पुर्याउने विद्यालयले लक्ष्य राखेको जानकारी दिए ।
जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्यूसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायतका ठाउँमा भौतारिन बाध्य भए पनि रास्कोट नगरपालिकाले सबै विद्यार्थीलाई आवासीय सुविधासहित मंसिर १ देखि विद्यालयमा राखेर पठनपाठनको व्यवस्था गरेको हो । कर्णालीका हिमाली जिल्लामा विषयगत शिक्षकको अभाव र समयमै ‘कोर्ष’ पूरा नहुँदा विद्यार्थीहरु ट्युसनको भरमा एसईई दिन बाध्य छन् । जसका कारण बर्सेनि नतिजा कमजोर हुने गरेको छ ।




karnalipress
१३ पुष २०८२, आईतवार १७:४८