
साउन १९,कालिकोट । कालिकोटको तिलागुफा नगर अस्पताल राँचुलीबाट नियमित विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ। तिलागुफा नगरपालिकाले नगर अस्पताल राँचुलीबाट नियमित विशेषज्ञ सेवा सञ्चाल गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला संग सम्झौता गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत र तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्रबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरि राँचुलीबाट नियमित विशेषज्ञ सेवा सुरु गरिने जनाएका हुन।
उप–प्रमुख महेन्द्रबहादुर शाहीले नगरवासीले उपचारका लागि टाढा नगई घर नजिकै उपचार पाउने सुनिश्चितता गरिएको बताए । उनले भने, ‘अबका दिनमा विषेशज्ञ सेवा नगरपालिकामा नै उपलब्ध हुनेछ । नगरपालिकाको स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक खटाउने छौँ’, उनले थपे,‘प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तीमा एकपटक विशेषज्ञ चिकित्सकद्वारा शिविर सञ्चालन गर्ने छ।’
प्रतिष्ठानको सातौं सभाको निर्णयले कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्य अनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिका बीच सम्झौता भएको हो ।
नगरपालिका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गुणस्तर सेवा विस्तार सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता भएको नगर उपप्रमुख शाहीले जानकारी दिए । उनले भने ‘प्रतिष्ठानले गुणस्तरीय छिटो र छरितो स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नेछ। नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छु।’ नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन हुने भएपछि यहाँका नागरिक खुसी भइका छन्।



karnalipress
१९ श्रावण २०७९, बिहीबार १६:४०