श्रावण २३, काठमाडौं, साउन २३। कोरोना संक्रमण बढेसंगै पुनः एयर लिफ्टिङको माग बढ्न थालेको छ। कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान हवाइ उद्धारको माग पुनः बढ्न थालेको हो ।
एक सातायता सिम्रिक, कैलाश, श्री, अल्टिच्युड, हेलि एभरेष्ट, एयर डाइनेष्टी, मनाङ, माउन्टेन, फिस्टेल लगायतका हेलिकोप्टर कम्पनीमा एयर लिफ्टिङका लागि मात्र दैनिक दर्जनभन्दा बढी फोन आउन थालेको बताएका छन् ।
विभिन्न जिल्लामा कोरोनाका बिरामीको उद्धारका लागि विशेष उपकरण र चिकित्सक टोलिसहितका हेलिकोप्टर चार्टड गर्नेको संख्या बढ्दै गएको व्यवसायीले जनाएका छन्।
राजधानीसहितका अस्पतालमा कोरोनाका विमारीको चाप बढ्दै जाँदा देशका विभिन्न ठाउँबाट संक्रमितलाई ओसार्न हेलिकप्टर कम्पनीले बुकिङको माग बढ्दै गएको बताएका छन् ।
हेलिकप्टर कम्पनीहरुले बिरामी उद्धारको शुल्क प्रति उडान घण्टा सरदर १२ सय अमेरिकी डलर देखि १५ सय अमेरिकी डलर सम्म लिने गरेका छन्।
यसअघि कोरोनाको दोस्रो लहर उत्कर्षमा रहँदा काठमाडौंबाट हेलिकप्टरले बिरामी चितवन र झापाका अस्पतालसम्म ओसारेका थिए। यतिबेला भने उपत्यकाका अस्पतालमै बिरामी ल्याइरहेका छन्। हाल नेपालमा ११ वटा हेलिकप्टर कम्पनीहरु रहेका छन् ।
सरदर दिनमा दुई देखि चारसम्म कोरोनाक विमारीको हेलिकप्टरबाट उद्वार हुन थालेको सम्बन्धीत कम्पनीहरुले बताएका छन् । बाढी, पहिरो तथा लामो दूरी र विमारीको अवस्था जटिल बन्दै जाँदा हेलिकप्टरबाट विमारी ओर्सान सहज हुने कम्पनीहरुको भनाई छ ।
karnalipress
२३ श्रावण २०७८, शनिबार ०६:३९