
साउन ७काठमाण्डाै – सरकारले लोक गायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोक गायक सपुत र गायिका दुलाललाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।
गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उहाँहरूलाई त्यससम्बन्धी सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए।
प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्याङ्कन गर्ने काम भइरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको छ ।



karnalipress
७ श्रावण २०७८, बिहीबार २०:३१