![](https://karnalipress.com/wp-content/uploads/2021/07/5-2.jpg)
साउन ७ काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बीच भेटवार्ता हुन लागेको हो । ‘दुई नेता बीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ’, एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले जानकारी दिए।
माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए। ‘आज भेटवार्ता हुने कुरा छ।समय र स्थान तय भैसकेको छैन’ ती सदस्यले बताए। नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनीहरुलाई आज कारवाही गर्ने भनिए पनि कारवाहीको प्रक्रिया अघि बढाइए को थिएन ।
विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।
karnalipress
७ श्रावण २०७८, बिहीबार २०:३४