बेथिति–विसंगति उजागर गरी भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिकाे यात्रामा : कर्णाली प्रेस 

ललित बिष्ट भाद्र १३,कालिकोट,आदरणीय पाठकहरु   नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, सम्मुनत तथा समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना गरेको छ ।

संविधानले व्यवस्था गरेको मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र नीति, दिगो विकास लक्ष्य प्राप्तिका लागि सुशासनयुक्त समाज निर्माणको अहम् भूमिका मिडियाको हुने गर्दछ ।

सुशासनयुक्त समाज निर्माण गरी समृद्ध कर्णालीको परिकल्पनालाई साकार बनाउँदै कर्णालीलाई विकशित गराउन जनस्तरका समस्या, अवसर र चुनौतिका विषय वस्तुको उठान र समाधानका उपायको खोजी गर्नु जरुरी छ ।यही सन्दर्भमा कर्णाली प्रेसलाई प्राथमिकता दिदै सम्मुनत समाज निर्माणकालागि हामी यहाँहरुकाे सामु आएका छौँ। हाम्रो यात्राको पहिलो पाइलाको रुपमा कर्णाली प्रेस अनलाइनसुरु  गरिएको  हाे।

राष्ट्रियता, लोकतन्त्र, सुशासन, समृद्धि र सभ्य समाज निर्माणको महान् उद्देश्यप्रति हामी पूर्ण समर्पित रहि   सत्यतथ्य समाचार निरन्तर प्रवाह गर्ने प्रतिवद्धता गर्दछौँ ।

  छिटो, छरितो र सहज रूपमा सूचना सम्प्रेषण गर्न सक्ने प्रविधिका रुपमा  अनलाइनको महत्व र आवश्यकता छ । सोही कुरालाई मध्यनजर गर्दै श्रव्यदृश्य, डिजिटल पत्रिकाको रूपमा कर्णाली प्रेसलाई तपाई माझ पस्कने गरी लिएर आएका छौँ ।

पढ्न, सुन्न र देख्न सकिने पत्रकारिता नै अहिलेको आवश्यकता हो । त्यही जनताको चाहनाको परिपूर्ती गर्न यस मिडियाले हदसम्मको प्रयत्न गर्ने छ ।

विधिको शासन, मानवअधिकार, भ्रष्टाचारमुक्त समाज , कुसंस्कार,गरिबी,शासकीय पद्धतिका निम्ति हाम्रो प्रयास निरन्तर रहनेछ । स्वच्छ र सभ्य समाज स्थापनाको आधारशिला तयार गर्न, सरकारी निकाय भित्रका बेथिति–विसंगति उजागर गरी त्यस्ता निकायलाई जबाफदेही बनाउनु हाम्रो दायित्व हो ।

यस सुरुवाती घडीमा आमपाठक, विज्ञापनदाता, विक्रेता, समाचारदाता, लेखकका माध्यमबाट सहकार्यकालागि हार्दिक अपिल गर्दै निरन्तर रूपमा तपाईंहरूको साथ, ऊर्जा र हौसलाको अपेक्षा गरेका छौँ ।