कालिकोटमा पनि बढ्दै ‘चेक बाउन्स’

ललित विष्ट फागुन ३०,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ का कमल बस्नेतले चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर गत हप्ता जिल्ला प्रहरी कार्यालय कालिकोट पुगे। करिब ६ महिनाअघि डोजर सञ्चालनको लागि मोबाइल बैकिङ र नगद गरी खाँडाचक्र –१० चौकीका अवीन्द्र शाहीलाई दुई लाख दुई हजार नगद दिएका थिए।

६ महिनापछि पैसा माग्दा चेक दिएपछि उनी चेस साट्न प्रभु बैंक पुगे। चेक दिने व्यक्तिको खातामा पैसा नभएपछि उनलाई शंका लाग्यो। ती व्यक्तिलाई फोन गर्दा स्विचअफ थियो। त्यसपछि कमललाई तनाव भयो। उनी पटकपटक चेक बोकेर बैंक धाइरहे। बैंकका कर्मचारीले, ‘हुँदैन, चेक बाउन्स छ’ भनिदिएपछि आफू ठगिएको महसुसगर्दै उनी प्रहरी गुहार्न पुगे। ‘खातामा पैसा होला भनेर कारोबार गरियो,मलाई चेकबाट पैसा दिने सहमति पनि भएको थियो, तर तीनपटक बैंकमा साट्न जाँदा चेक दिने व्यक्तिको खातामा पैसै रहेनछ,’ उनले सुनाए। प्रहरीका अनुसार चेक बाउन्स कारोबारगर्ने व्यक्ति फरार छन्।

अर्का एक व्यक्ति पनि त्यसैगरी बाउन्स चेकमा फसेको भन्दै फाइल बोकेर प्रहरी कार्यालयमा आइपुगे। उनको १० लाखको चेक बाउन्स थियो। जग्गा व्यवसायीले नै बाउन्स चेक दिएर ठगेको उजुरी प्रहरीमा दिएर उनी फर्किए। ‘मोटो रकम चेकमै कारोबार हुने भएकोले विश्वास गरेर चेक बोकियो, साट्न जाँदा खातामा पैसा रहेनछ,’ ती व्यक्तिले सुनाए।

प्रहरीको मुद्दा शाखामा यस्ता धेरै चेक बाउन्समा ठगिएका छन्। जग्गाको कारोबर, चेकको कारोबार, सापटी, लेनदेन लगाएतका मुद्दा रहेका छन्। पछिल्ला केही वर्षयता दुर्गम जिल्लामा पनि चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन्।

कालिकोटमा यो वर्षको ६ महिना यता चेक बाउन्सका आठवटा मुद्दा दर्ता भएका छन्, भने नौवटा मुद्दा दर्ता प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। अहिलेसम्म धेरै रकम ठगीको जाहेरीमा मिलापत्र भएको बताइएको छ। उजुरीमा जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेका छन्।

बैंकिङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिबाना र बिगोअनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ। पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैंकिङ कसुर बढ्दै गएको प्रहरी सूचना अधिकारी पोषण थापाले बताए।

के हो चेक बाउन्स?

भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यो ‘चेक बाउन्स’ हो। खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ। एउटै चेक धेरैपटक बाउन्स भएको खन्डमा त्यसलाई बैंकिङ कसुरका रूपमा लिने गरिन्छ।

एउटै चेक तीनपटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुनसक्ने कानुनी व्यवस्था पनि छ। साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुन्छ।

चेक बाउन्स भए के गर्ने?

बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउँछन्। यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिन्छन्।