कर्णालीका तीन सांसदले नेकपा समाजवादी पक्षमा सनाखत गर्ने

भाद्र १६ ,सुर्खेत कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम),  मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् ।
उनीहरुले  बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्।

 समग्र प्रदेशमा एमालेको विभाजन भएपछि  नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही केन्द्रीय समितिमा समेत रहेका छन् ।

प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षका ९ सांसद रहेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई कारबाही गरिएको थियो । उनीहरु समाजवादीको प्रदेश कमिटीमा भने एकताबद्ध छन्।