पैसाको लागि आफ्नै साथीको हत्या गर्ने सैनिक पक्राउ

श्रावण ८ चितवन, नेपाली सेनामा कार्यरत जवानले आर्थिक प्रलोभनले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत जवान भरतपुर महानगरपालिका २१ का २६ वर्षीय गंगाधर ढकालले पैसाका लागि सोही गणमा कार्यरत हवल्दार भरत गुरुङको हत्या गरेको चितवन प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

 

 

ढकाललाई घटना भएकै दिन अपराह्न ४ बजे पश्चिम चितवनको चनौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए । ‘पैसाका लागि साथीको सोझोपनको फाइदा उठाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ’ उनले भने ‘रातभर मादक पदार्थ सेवन गराएर विहानपख हत्या भएको हो । हामी अझै अनुसन्धान गर्दै छौँ’।

 

 

प्रहरीका अनुसार गुरुङको वडा नं. १७ मानसिंह चोक नजिक सिमलडाँडा खेतको कुलोमा हत्या गरी फालेको अवस्थामा शव फेला परेको हो।धादिङको नीलकण्ठ–१३ का ३६ वर्षीय गुरुङले जग्गा पासको लागि चितवन आउनुपर्ने भएकोले ढकाललाई फोन गरी काठमाडौँमा लिन बोलाएका थिए । साउन ५ गते गंगाधरको मोटरसाइकल चढेर बुधवार चितवन आएका थिए । भरतपुर १९ शारदानगर टाउनस्थित भरतको माइला बुवाको छोरा रविन गुरुङको घरमा झोला राखेर ढकालसँग खाजा खाने भनेर निस्केका थिए ।

 

 

प्रहरीका अनुसार अत्याधिक मादक पदार्थ सेवन गराएर रातभर मोटरसाइकलमा डुलाएर विहान ५ बजे घर नभएको एकान्त स्थानमा पिसाब फेर्ने वाहनामा दायाँ कानमा गोली हानेका थिए ।आरोपित ढकालले गुरूङको ग्लोबल आईएमई बैंकको खाली चेकमा आफैँले हस्ताक्षर गरेर चेक साटी ९ लाख रुपैयाँ झिकेका थिए । त्यसमध्येको एक लाख राखेर बाँकी परिवारलाई आफ्नो कमाइ भनेर दिएका थिए ।

 

 

घटनास्थलबाट गोलीको एक थान खोकाबरामद भएको थियो । ढकालसँगको सोधपुछ गर्दा बिसहजारी ताल गेट नजिकबाट एसएमजी बन्दुक फेला पारेको थियो । त्यस्तै सौराहा चोकस्थित ढकालको दिदीको घरमा लुकाइराखेको सात राउण्ड गोली, परिवारको सदस्यलाई दिएको आठ लाख रुपैयाँ बरामद गरेको छ ।मुलुकी अपराध संहिता, २०७४ परिच्छेद –१२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ मा जन्म कैदको व्यवस्था अनुसार मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।