एमाले फुटाउन अध्यादेश ल्याए आगो बल्छ: महेश बस्नेत

श्रावण ९,काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुभयो ।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताउदै ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उहाँले भन्नु भयो ।

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गर्नु भयो। अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने बस्नेतले भनाई छ । उहाँले एमालेका मान्छेले भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि चुनौती दिनुभयो ।

‘एमालेका मान्छे समातेर देखाउ, कहिँ भ्रष्टाचारी छन् भने होइन भने काँक्रो चोरे आफू खाने बियाँ अर्काको मुखमा लगाएर स्याल हुइयाँ गर्ने दिन सकिए’ उहाँले भन्नु भयो ।

नेता बस्नेतले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने कुरा आइरहेको भन्दै त्यसो गरेमा युथ फोर्सले तह लगाउने जिकिर गर्नु भयो ।