
काठमाडौँ — कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आसन्न महाधिवेशनबाट कांग्रेसले जनताबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने एजेन्डा लिएर चुनावमा जानुपर्ने प्रस्ताव गरेका छन् । ‘नेपालको राजनीतिमा देखिएको सधैंको अस्थिरताको अन्त्य गर्न जरुरी छ, स्थिर सरकार र विकासको लागि संसदीय व्यवस्था अन्तर्गत् नै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ,’ शाहीले १४ औँ महाधिवेशनबाट कांग्रेस रुपान्तरका लागि ३० बुँदे प्रस्तावमा भनेका छन्, ‘संसद्ले सेरोमोनियल राष्ट्रपतिको निर्वाचन गर्छ, राष्ट्रियसभालाई समावेशी र समानुपातिक बनाउने र प्रत्यक्ष निर्वाचित मात्रै भएको प्रतिनिधिसभाको गठन गरौँ ।’
शाहीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एउटा व्यक्तिलाई पटक–पटक समानुपातिकबाट सांसद् बनाउन नहुने बताए । नेता शाहीले पार्टीलाई रुपान्तरण गरेर लैजान कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए ।
‘पार्टीमा गुटको आधारमा, नातावाद, चाकडीवाद र आर्थिक सम्पन्नताको आधारमा होइन, योगदान, समर्पण, सक्रियता, निरन्तरता, प्रतिबद्धता र क्षमताको आधारमा जिम्मेवारी र अवसर प्रदान गर्ने परिपाटीको विकास गर्नुपर्छ,’ शाहीको प्रस्ताव छ ।
तरुण दलको महामन्त्रीसमेत रहेका शाहीले नेविसंघमा ३० र तरुण दलमा ४० वर्षको उमेर हद तोक्नुपर्ने प्रस्ताव गरेका छन् । ‘महाधिवेशन सकिएको दुई महिनाभित्र तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भ्रातृ संस्थाहरुलाई पूर्णता दिएर पार्टीलाई चुस्तदुरुस्त बनाउन र संगठन निर्माणमा सबैलाई परिचालन गर्नुपर्छ,’ उनले भने, ‘ भ्रातृ संस्थाको महाधिवेशन तोकिएकै मितिमा गर्न नसके स्वतः विघटन गर्ने तथा नेविसंघमा ३० वर्ष र तरुण दलमा ४० वर्षको उमेर हद तोकिनुपर्छ ।’
पार्टीमा एक व्यक्ति, एक पदमा मात्रै रहने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले सबल, सक्षम र सशक्त पार्टी बनाउन गाउँ–गाउँमा प्रशीक्षण चलाउनुपर्ने, कांग्रेसको नेतृत्व गाउँकेन्द्रित हुनुपर्ने र पार्टीको संगठनलाई मजबुद बनाउन ‘जनजनमा कांग्रेस, मनमनमा कांग्रेस अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेता शाहीले पार्टीले आफ्ना संगठनमा कम्तिमा ५० प्रतिशत युवा प्रतिनिधित्वको ग्यारेण्टी गर्नुपर्ने बताए । ‘युवाहरूको उर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तिमा ५० प्रतिशत युवा प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्छ । कांग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्छ,’ उनले भनेका छन् ।
उनले दलित समुदायबाट महामन्त्री निर्वाचित हुने विशेष व्यवस्थाका लागिसमेत माग गरे । ‘धनमानसिंह परियार पनि महामन्त्री हुनुहुन्थ्यो भनेर मात्रै पुगेन । अहिले हामीले दलित समुदायको नेतालाई महामन्त्री बनाउने हिम्मत जुटाउनुपर्यो,’ उनले भनेका छन् ।
by-ekantipur



karnalipress
८ मंसिर २०७८, बुधबार ०७:२९