कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान बिष्ट नियुक्त

१४ मंसिर सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान बिष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार बिष्टलाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त अर्थमन्त्री बिष्टले मंगलबार बेलुका साढे ७ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।बिष्ट मुख्यमन्त्री शाहीले आफ्नो मन्त्रिपरिषदमा नियुक्त गरेको दोस्रो मन्त्री हुन्।

यसअघि कात्तिक ३० गते नेकपा एकीकृत  समाजवादीका कर्णाली प्रदेश सभा दल नेता चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। अर्थमन्त्रीमा नियुक्त बिष्ट माओवादी केन्द्रका सांसद हुन्। उनी सुर्खेतका निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्छन्।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका छन्।आज विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित हुन नसकेपछि कार्यसूचीमा प्रवेश गरेर मात्र बैठक स्थगित गरिएको छ।अब मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने भएका छन् ।