
११ साउन, काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्माले तत्कालको लागि खोप अभियानमै लगानी केन्द्रित गरिने बताउनु भयो ।आइतबार पूर्व अर्थमन्त्रीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले तत्कालको लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमै लगानी केन्द्रित गरिने जानकारी दिनुभयो ।
पूर्ण खोप अभियानको सफलतामा नै अर्थतन्त्रको पुनर्जीवन आश्रित रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकारले पहल गरिरहेको बताउनु भयो ।
विकास बजेट कटाएरै भए पनि खोप खरिद गरेर आर्थिक गतिविधि चलायमान बनाउने कामलाई प्राथमिकता दिइएको अर्थमन्त्रीले उल्लेख गर्दै। राज्यका सबै क्षेत्रमा आत्मनिर्भरता सम्भव नभए पनि स्रोत व्यवस्थापनमा आत्मनिर्भर हुनैपर्छ भन्दै मन्त्री शर्माले त्यसको लागि औद्योगिक उत्पादन वृद्धि गर्ने गरी नीतिगत व्यवस्था मिलाउने उहाँको भनाई छ।
अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सोचका साथ आफूले काम गरिरहेको र अध्यादेश बजेटको निकास सँगै ठोस कार्यक्रम बनाएर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजीगत खर्च नबढ्नुमा विकासे मन्त्रालयहरूको मात्र कमजोरी छ कि अर्थ मन्त्रालयको पनि कुनै कमजोरी छ भन्ने कुराको गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिदै। पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा केही समय स्रोत नखोज्ने नीति अख्तियार गर्न सुझाव दिनुभएको छ ।
यस्तै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडीबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न भनिएको छ। उहाँले ४० लाख डिम्याट खाता खुलिसकेको पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न सकिने सुझाव दिनुभयो ।



karnalipress
११ श्रावण २०७८, सोमबार ०६:३२