१९ माघ,काठमाण्डाै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताएका छन्। आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री समेत रएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताएका हुन् ।
सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उनले कानुन एवम् संविधानअनुसार फागुनभित्र चुनाव गर्न एमालेले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरेको बताए ।
यस्तै ओलीले कोरोना भाइरसविरुद्धको २४ लाख मात्रा खोप हराउनु सरकारको गम्भीर लापर्बाही भएको भन्दै छानबिन पनि नहुनु दुर्भाग्य भएको टिप्पणी गरे ।एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तह चुनावकाे मिति तत्काल घोषणा गर्न माग गरेको छ ।
बैठकपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको मिति भोलि बिहीवारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।



karnalipress
१९ माघ २०७८, बुधबार २०:२०