दैलेखमा १७ लाखको योजनामा १ लाख ५३ हजार कमिसन

श्रावण,१३ दैलेख : जिल्लाको महाबु गाउँपालिका–५ को सितलहरे खानेपानी योजना निर्माणमा लाखौँ रकम अनियमितता भएको पाइएको छ।खानेपानी योजनाको काम सम्पन्नपश्चात् वडा नम्बर-५ का कार्यालय सहयोगीले योजनाको काम गराउने प्राविधिकलाई कमिसन दिने भन्दै ७१ हजारको चेक लगेको पाइएको हो।

विभिन्न व्यक्तिलाई कमिसन दिनुपर्ने भन्दै वडाका कार्यालय सहयोगीको नाममा ७१ हजार र उपभोक्ता समितिका सचिवका नाममा ८२ हजारको चेक गएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तर्कबहादुर साहीले बताउनुभयाे।

कमिसन दिने भन्दै समितिका सचिव र वडाका कार्यालयका सहयोगीले १ लाख ५३ हजारको चेक लग्दा कामदारले पाउनुपर्ने रकम भुक्तानीमा समस्या भएको अध्यक्ष साहीको भनाइ छ।

खानेपानी समितिका सचिव एकेन्द्र बहादुर साहीले आफूले ८२ हजारको चेक लगेको स्वीकार गर्नुभयाे। उहाँले आफूले ८२ हजारको चेक लगेको भए पनि साट्न जाँदा बैंकमा पैसा नसाटिएकाले वडा कार्यालय सहयोगी मान बहादुर शाहीलाई दिएको बताइएको छ।

योजना राम्रो बनाउने भनेर बारम्बार खबरदारी गर्दा समेत प्रभावकारी काम नभएको र योजनाको रकम हिनामिना गरी कामदारको ज्याला नदिएको स्थानीय बासिन्दाहरूको आरोप छ।आफूहरूले काम गरे अनुसारको ज्याला नपाएको सिँचाइ योजनामा काम गरेका स्थानीय सन्दीप शाहीले बताउनुभयो।

संघीय सरकारअन्तर्गत प्राप्त भएको १७ लाख रकम खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालय कार्यालय दैलेखमार्फत उक्त रकम उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो। उपभोक्ता समितिले खरिद गरेको सामानको बिलमा समेत दररेट भन्दा धेरै रकम उल्लेख गरिएको एक उपभोक्ताले जानकारी दिनुभयो। by-thahakhabar