
चैत्र १३,कालिकोट । कालिकोटका डम्वर र बाचुसरा बादी रोजगारीका लागि दुई छोरीसहित भारतको नैनीतालमा थिए। अघिल्लो वर्ष विषालु च्याउ खाँदा उनीहरुको नैनीतालमै मृत्यु भयो। बुवा आमाको मृत्युपछि विचल्लीमा परेका नौ महिनाकी श्रीष्मा र पाँच वर्षकी मनिषालाई सँगै रोजगारीमा गएका स्थानीयहरुले उद्दार गरेर घर ल्याए।
बुवा–आमा गुमाएकी यि बालिका अहिले ६१ वर्षीया हजुरआमा लक्ष्मीको संरक्षणमा छन्। बस्नलाई आफ्नो घर छैन्। उब्जाउनका लागि खेतबारी छैन्। दिनभरि मान्मा बजारमा लक्ष्मी दुई नातिनीलाईसँगै लिएर माग्न जान्छिन्। कसैले दिए पेट भरिन्छ नभए भोकै सुत्नुपर्छ।
लक्ष्मी आफैँ सहाराविहिन छिन्। त्यसमाथि एक वर्षदेखि दुई नातिनीको जिम्मेवारी आइलागेको छ। नातिनीहरुलाई खानाको जोहो गर्न गाउँ गएकी लक्ष्मी भिरबाट खसेर घाइते भइन्। हात भाँचिएको छ। अहिले उनी हिँडडुल गर्न सक्दिनन्।
‘म आफै बेसहारा छु, नातिनीहरुको कसरी पेट पाल्नु,’ उनले भनिन्, ‘बुढेसकालको सहारा छोराछोरी गुमाएँ, नातिनीहरूलाई कसरी हुर्काउँ।’ जिल्ला अस्पताल कालिकोटले लक्ष्मीलाई हातको अप्रेशन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जान भनेको छ।
उनीसँग उपचार त परको कुरा नातिनीहरूहलाई छाक कटाउनका लागि अन्न किन्ने पैसा छैन्। ‘डाक्टरले उपचार गर्न जुम्ला जानु भनेका छन्,’ उनले भनिन्, ‘नातिनीलाई खुवाउने अन्न छैन्, आफू उपचारका लागि कहाँ जानसक्छु।’
बालिकाको शरिरमा अघिल्लै वर्षदेखि एकसरो कपडा छ । त्यो पनि ठाउँठाउँमा च्यातिएका छन्। पाँच वर्षकी मनिषाले स्कुल देख्न पाएकी छैनन्। ‘यस्ता टुहुरालाई कसैले पढाईदिए कति राम्रो हुन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘सहयोग माग्दै धेरै ठाउँमा धाएँ, मेरा लागि कोही सहयोगी भेटिएनन्।’ लक्ष्मी आफ्नो भन्दा पनि साना नातिनीहरुको चिन्ताले पिरोलिएकी छन्। ‘म काल पर्खिएर बसेकी छु, कति बेला मर्छु थाहा छैन्,’ उनले भनिन्, ‘म मरेपछि यिनीहरुको अवस्था के हुने हो भनेर चिन्ता लाग्छ।’
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले समस्यामा परेका बालिकाहरुको उद्दारका लागि पहल भइरहेको बताए। ‘यस्ता बालबालिकालाई संरक्षण गर्ने धेरै निकायहरु छन्,’ उनले भने, ‘हामीले खवर गरेका छौं, तर कोही पनि सम्पर्कमा आएका छैनन्।’ उनले बालिकाको उद्दारका लागि प्रशासनले आवश्यक सहयोग गर्ने बताए।



karnalipress
१३ चैत्र २०७८, आईतवार १९:२९