घर फर्के निर्वाचन प्रहरी

कालीकाेट। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी घर फर्केका  छन्।

जिल्ला प्रहरी कार्यालय कालीकाेटले बिहीबार  औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार १ सय १ जना निर्वाचन प्रहरी र ९६ जना सशस्त्रका निर्वाचन प्रहरीलाई सामूहिक बिदाइ गरेको हो।

निर्वाचनको लागि माघ १८ गते निर्वाचन  प्रहरी भर्ना गरिएको थियो । निर्वाचनको सुरक्षा व्यवस्थापनमा निर्वाचन प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै   प्रहरीलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गाेकण राज सुयलले बिदाइ कार्यक्रममा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा निर्वाचन प्रहरीको महत्त्वपूर्ण योगदान रहेको बताए ।

४०  दिने कार्य अवधिमा सिकेको ज्ञान, सिप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा काम लाग्ने उनलेे बताए  । सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन जस्ता कुराहरु दैनिक जीवनमा लागु गर्न उनलेे सुझाव दिए।

प्रहरी प्रमुख डिएसपी   हिम बहादुर खत्रीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन प्रहरीलाई धन्यवाद दिए। उनलेे रासन भत्ता, पोशाक खर्च, तलब, परिचालन खर्च र खाजा खर्च गरेर ५२ हजार  बैंक खातामार्फत भुक्तानी भइसकेको बताए  । निर्वाचन प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ।