जनताको अवस्था परिवर्तनका लागि गठबन्धनः प्रचण्ड

बैशाख २७,कालिकोट। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरु गठबन्धन बनाएको बताएका छन् ।उनले प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्ने ‘ओली प्रवृत्ति’का विरुद्ध गठबन्धन बनेको पनि प्रस्ट पारे ।

देशका दलित, आदिवासी, जनजाति र महिला सबैले पाएको पहिचान उल्ट्याउने, गाउँ–गाउँमा पुगेको सिंहदरबारको अधिकारलाई फेरि फर्काएर काठमाडौं लैजाने षड्यन्त्र भएका कारण त्यसलाई परास्त गर्न गठबन्धन निर्माण भएको उनको तर्क थियो ।

सोमबार चुनावी सभालाई सम्बोधन गर्न कालिकोट पुगेका उनले देश संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा अघि बढेको बताउँदै अब जनताको अवस्था परिर्वतन गर्न आफूहरु केन्द्रित भएको बताए ।

उनले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, देशमा समाजवादको आधार तयार पार्ने, समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्ने गठबन्धनको मुल उद्देश्य भएको पनि स्पष्ट पारे ।