
जेठ ९,कालिकोट । कालिकोटका ९ वटा पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले उनिहरुलाई शपथ खुवाएका हुन् ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजङ शाहीले शपथ लिएका हुन् ।
यस्तै, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
जिल्लाका ९ स्थानीय तह मध्ये खाँडाचक्र नगरपालिका र शान्नीत्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार कमल शाही र मोहन केसीले जितेका थिए । रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको छ ।
तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाका तीन स्थानीय मध्ये एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले उपप्रमुख र उपाध्यक्ष जितेका छन् ।
माओवादी केन्द्र पाँच प्रमुखसहित चार उपप्रमुख र उपाध्यक्ष, काँग्रेसले दुई प्रमुखसहित एक उपाध्यक्ष जितेको छ । दुई प्रमुखमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
karnalipress
९ जेष्ठ २०७९, सोमबार १८:०१