हत्कडीसहित फरार बलात्कार आरोपी पक्राउ

बैशाख ३१,कालिकोट । हत्कडीसहित फरार रहेका बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका शंक बुढा पक्राउ परेका छन्। उनलाई आइतबार विहान पलाँता–७ को दुर्सी खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

२५ गते उनलाई पक्राउ गर्ने क्रममा स्थायी प्रहरी पोष्ट करदेवका असई लक्ष्मीरुद्र रावत र पीडित परिवारका सदस्य धनमान बिकमाथि स्थानीयले आक्रमण गरेका थिए। उनी हत्कडीसहित फरार भएका थिए। हत्कडी २६ गते बेलुका घर नजिकैको जंगलमा फेला परेको थियो। बलात्कार मुद्दा दर्ता गरेको भन्दै पीडकहरुले पीडित परिवारको घर तोडफोड गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले बलात्कार आरोपी बुढालाई पक्राउ गरिएको बताए। ‘हत्कडीसहित फरार भएका अभियुक्तलाई खोज्नका लागि अप्रेशन सञ्चालन गरेका थियौं,’ उनले भने, ‘आइतबार विहान सात बजेतिर दुर्सी खोलामा भाग्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भयौं।’

प्रहरी र पीडित परिवारमाथि आक्रमण गर्ने सात जनालाई प्रहरीले यसअघिनै नियन्त्रणमा लिइसकेको छ। पीडित परिवारले नौ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका छन्। प्रहरीका अनुसार पालाँता गाउँपालिका–६ का २८ वर्षीया मैना बम बुढा, सोही ठाउँका ४२ वर्षीया जानकी बुढा, ६० वर्षीया जैपुरा बुढा, ५९ वर्षीया कलशा बम, ६१ वर्षीया जनकला बुढा, ३५ वर्षीय जल बुढा र १५ वर्षीय एक बालकलाई प्रहरीले २८ गते पक्राउ परेका छन्।

पलाँता गाउँपालिका–६ सैनका शंक बुढाकी सानी आमा अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए। पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो।