ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि पुन दैलेखमा ल्याईयो

पुस २१,दैलेख। दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेखमा ल्याइएको छ । २०२८ सालमा दैलेखमा भोकमरी परेपछि जिल्लामा रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप फेरी दैलेखमा नै ल्याइएको हो।

स्थानीय सरकारको पहलमा उक्त तोप दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो । सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनविश्वास छ । सङ्घीयतापछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू आफ्नै जिल्लामा ल्याउनुपर्ने माग गर्दै आएका छन् ।

स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । आज दैलेख ल्याइएको सुन्दरी तोपमा ८१ थान गोला भरिएको जनाइएको छ । तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भएपनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्ममा राखिएको छ ।

जानकारहरुका अनूसार सुन्दरी तोपको आफ्नै धार्मिक महत्व समेत रहेको छ । सुन्दरी तोप पुनः ल्याएपछि दैलेखमा पर्यटकको आगमन बढ्ने देखिएको छ ।

पानि माथि आगो बल्ने ज्वाला क्षेत्र,सिञ्जा राज्यको सितकालीन राज्य, पुरातात्विक महत्वको गढी, दर्जनौँ देवल लगायतका पुराना ऐतिहासिक सम्पदा दैलेखमा रहेका छन ।