
३० जेठ,काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आठ वर्षअघि आयोजित एक सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको छ ।करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्षसहित प्रहरीले सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेविरुद्ध अनुसन्धान सकिएको छ ।
जिल्ला प्रहरी कार्यालयको कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले मानवबेचबिखन तथा ओसारपसार र बोल यौन दुर्व्यवहारको कसूरमा अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको अनलाइनखबरलाई बताए । उनले भने, ‘प्रतिवेदनमाथि अध्ययन गरिरहेका छौं, भोलि वा पर्सी अदालतमा मुद्दा लैजान्छौं ।’
मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ ९ख० मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।
यो घटनामा पाण्डेले पीडितलाई नशालु पदार्थ खुवाएर कब्जामा लिएर विभिन्न ठाउँमा जबरजस्ती करणी गरेकाले मानवबेचबिखन तथा ओसारपसार ठहरिने प्रहरी प्रतिवेदनमा उल्लेख छ । यसलाई पुष्टि गर्न प्रहरीले प्रमाणका रुपमा पीडितले सार्वजनिक गरेको भिडियो बयान र केही साक्षीहरुको बयानलाई आधार बनाएको छ ।
जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धानका लागि हदम्याद बाधक भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो । पछि पाण्डेबाट पीडित भएको भन्दै अर्की एकजना नाबालिगले पनि बाल यौन दुर्व्यवहारको जाहेरी दिएकी थिइन् ।
मानवबेचबिखनको कसूरमा ११ वर्ष र बालयौन दुर्व्यवहारको कसूरमा तीन वर्ष गरेर १४ वर्ष जेल सजाय प्रहरीले आफ्नो प्रतिवेदनमा माग दाबी गरेको छ । पीडित युवतीले सार्वजनिक गरेको भिडियो बयान अनुसार प्रतियोगिता सकिएपछि उनलाई ‘सक्सेस पार्टी’ आयोजना गरेको भन्दै पाण्डेले बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएका थिए ।
त्यहाँ उनी पुग्दा कार्यक्रम हुने कुनै सुरसार थिएन, उनले त्यसबारे जिज्ञासा राख्दा पाण्डेले ‘तिमी चाँडै आयौ, ६र७ बजेदेखि कार्यक्रम सुरु हुन्छ’ भनेर बस्दै गर्न भनेको उनको भनाइ छ । केहीबेरपछि होटलका वेटर ‘लेमनेड’ लिएर आएको र त्यो खाएपछि आफू लठ्ठिएको उनले बताएकी छन् ।
‘त्यसपछि मैले त्यो व्यक्ति ९पाण्डे० लाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उनले तिमी विजेता भएर यस्तो भन्ने रु मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न दबाव थिए ।’
पाण्डेले ‘केटीहरुले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको’ बताएको र त्यहाँ आराम गर्न भनेको उनले भनेकी छन् । ‘गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको थियो,’ उनले भनेकी छन्, ‘तर म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’
उनले बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी थिइन् ।



karnalipress
३० जेष्ठ २०७९, सोमबार २१:२५