कर्णालीमा राँका बालेर मनाइयो साउने सङ्क्रान्ति

ललित बिष्ट श्रावण १,कालिकाेट। कर्णालीका हिमालि जिल्ला डोल्पा,मुगु,जुम्ला र कालिकोटमा राँका बालेर साउने सङ्क्रान्ति मनाउने प्रचलन छ । कर्णालीमा यो भन्दा बडा रमाइलो र सबैभन्दा रोचक पक्ष भनेको त एउटा घरले अर्को घरलाई आज राँका हाल्ने बेला दिल खोलेर गालीगर्ने चलन पनि निकै रोचक छ।

असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फालिएको छ। कर्णाली परम्परा अनुसार कागभलायो,कुकरडाइनो, लुतेझार,पानीअमला,कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो फाल्ने भनिन्छ।

साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ। अधिकांश किसान खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको बताईन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन्। साउन महिनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि पाईन्छ।