
ललित बिष्ट साउन ३, कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाभर घरेलु मदिरा बरामद गर्न थालेको छ ।घरेलुु मदिरा सेवनबाट हुने झै झगडाहरु कमगर्न अभियान चलाएको हो। यसअघि घरेलु मदिरा उत्पादन नगर्न प्रहरीले जिल्लाभर रोक लगाएको थियो ।
अटेर गरेर मदिरा उत्पादन गर्ने र बिक्री गर्नेहरु माथि जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी,प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट प्रहरी खटिएर छापा मारी अवैध घरेलुु मदिरा जफत गर्ने गरेको छ ।
प्रहरीले मदिरा उत्पादन गर्ने भाँडाहरुदेखि उत्पादन गर्दा प्रयोग गरिने सामानहरु समेत बरामद गरेको छ । विगतमा मदिरा सेवन गरि घरपरिवारका सदस्यहरुलाई कुट्ने तथा गाली बेइजती गर्ने मुद्दाहरु बढी आउने गरेकोमा प्रहरीले मदिरा नियन्त्रण अभियान थाले पछि गाउँघरहरु शान्त हुन थालेको प्रहरीको भनाइ छ ।
विशेष गरी मदिरा सेवनबाट महिलाहरुमा घरेलु हिंसाका घटना बढी हुने गर्दथ्यो । ‘अवैध मदिरा बरामद गर्न प्रहरी जिल्लाभर सक्रिय भएर लागेको छ’,प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले भने,‘मदिरा नियन्त्रण अभियानसंगै मदिराकै कारण हुने घरेलु हिंसामा समेत केहि कमी आएको छ ।’
सदरमुकाम आसपासदेखि ९ वटै स्थानीय तहमा मदिरा नियन्त्रण र सचेतनाका कार्यक्रमहरु प्रहरीले सक्रिय भएर गरेको छ । प्रहरीले स्थानीयसंग समन्वय गरेर अवैध मदिरा उत्पादन र बिक्री गर्ने पसल तथा घरहरुमा छापा मार्ने गरेका छन्।स्थानीय जनप्रतिनिधिको सहयोगमा प्रहरीले अवैध मदिरा बरामद गरेर नष्ट गर्ने गरेको हो।
गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री बितरण नर्गन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारि रामहरि शर्माले सरकारले गैरकानूनी पेसा मानेकाले घरेलु मदिरा उत्पादन बिक्री बितरणमा रोक्नुपर्ने बताए । मदिरा उत्पादन गरी जिविकोपार्जन गर्ने परिवारलाई पालिका तथा वडाले कार्यक्रम बनाएर रोजगारि दिनुपर्नेे उनको भनाई छ ।



karnalipress
३ श्रावण २०७९, मंगलवार १४:४२