सडक बिग्रिएपछि पुनःमर्मत

साउन २३,कालिकोट । कालिकोटको सदरमुकाम मान्म बजारको खाल्डा पुर्ने अभियान सुरु भएको छ । पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मण बहादुर बमको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा खाल्डा परेको ठाउँलाई पुनःआरसीसी गरिएको हो ।

मान्म बजारको सडकमा छ वर्ष अघि गरेको आरसीसी ढलान नटिकेपछि फेरी त्यही खाल्डा परेको सडकमा आरसीसी ढलानको कामसुरु गरिएको निवर्तमान अध्यक्ष लक्ष्मण बहादुर बमले बताए ।

उनले भने ‘सदरमुकाम मान्मको सडकले गर्दा धेरैले सास्ती खेप्नुपरेको छ । अब यस्तो सास्ती नहाेस् भनेर आरसीसी सुरु गरेको हाे ।’

कालिकोटकाे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय र जिल्ला समन्वय समितिकाे कार्यालय अगाडिको सडकमा आरसीसी गरीकाएको छ ।

मान्म बजार सुधार गर्ने पुरानो चुनावी एजेन्डा हो। तर,अहिले सम्म बजारको सडकमा खाल्डा,खुल्डीको समस्या समाधान भएको देखिदैन। भर्खरै बनेका सडकमा पनि केही महिना नबित्दै खाल्डा देखिन थाल्छन्। त्यसैले पनि बजारमा आवतजावत गर्न समस्या हुनेगर्छ ।

वर्षौंदेखि नगरपालिकालाई टाउको दुखाइका रुपमा रहेको मान्मको सडकमा किन नगरपालिकाले चासो नदिएको स्थानीय  धर्मराज शाहीले बताए ।

उनलेे भने जिल्ला प्रशासन कार्यालय अगाडि त यस्तो छ,अन्तकाे सडका कस्तो हाेला ? आरसीसीमा ठेकेदारको लापरर्वाहीले यस्तो भएको बताउदै  स्थानिय सरकार,प्रदेश सरकार र संघ सरकारले ध्यान दिनुपर्ने बताए ।