शुभकालिकामा विपत् जोखिम व्यवस्थापन सम्बन्धी तालिम

भाद्र १,कालिकोट। शुभकालिका गाउँपालिकामा विपत् जोखिम व्यवस्थापन र स्थानीकरण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच उक्त तालिम कार्यक्रमको उद्घाटन गरिएको हो। युयसएआईडिको आर्थिक सहयोग, मर्सिकोर नेपालको नेतृत्व र मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटद्धारा संचालित भकारी परियोजनाको सहजिकरण तथा शुभकालिका गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो।

शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद आचार्य, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीको विशेष उपस्थिति रहेको थियो ।

स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बिपद् सम्बन्धी बनेका ऐन, कानुन तथा विपत् पूर्वतयारी सम्बन्धी जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन समारोहमा बोल्दै शुभकालिका गाउपालिका वडा ५ का अध्यक्ष मिमबहादुर शाहीले बिपद् कुनै पनि बेला आउन सक्ने भएकाले विपतबाट बच्न पूर्वतयारी सम्बन्धी जानकारी लिनु आवस्यक रहेको बताए । उनले शुभकालिका गाउँपालिकाले बिपद् सम्बन्धी आवस्यक रणनिती बनाएर लागु गर्ने र नबनेका ऐन नियमहरु भकारी कार्यक्रम सँग सहकार्य गरेर अगाडी बढ्ने पनि बताए ।

बुधबारबाट तीन दिनसम्म चल्ने उक्त तालिममा शुभकालिका गाउपालिका ३ का अध्यक्ष प्रकासबहादुर शाही , वडा ४ का अध्यक्ष प्रदीप चौलागाई, वडा ६ का कार्यबहाक अध्यक्ष अनप्रसाद आचार्य लगाएत शुभकालिका गाउपालिकाका सम्पुर्ण शाखा प्रमुखहरु को सहभागिता रहेको थियो । तालिमको सहजिकरण भकारी कार्यक्रमका विपत् जोखिम व्यवस्थापन अधिकृत खेम खनाल, विपत् जोखिम व्यवस्थापन सुपरभाईजर तपेन्द्र शाही र तालिम प्रशिक्षक दिपेश आचार्यले गरेका छन् ।