बालविवाह रोक्दै किशोरी समूह

ललित विष्ट भाद्र २६,कालिकोट । बिगतका वर्षहरु भन्दा कालिकोट जिल्लामा बालविवाह रोकिएको पाइएको छ। बालविवाह,छिटो विवाह,जबरजस्ती विवाह,यौन तथा प्रजनन स्वास्थ्य अधिकार जस्ता विभिन्न हिंसा न्युनिकरण गर्न कालिकोटका गैरसरकारी संस्थाहरुले अभियान थालेपछि बालविवाह रोकिदै गएको हो ।

समाजमा हुँदै आएका बालविवाह,छिटो विवाह र जबरजस्ती विवाह न्युनिकरण सहित अन्य कुरीती,कुसंस्कार न्युनिकरण गर्न पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बालविवाह रोकिदै गएको आयोजक संस्था हुरेन्डेक नेपालले जनाएको छ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाललगाएतका गैरसरकारी संस्थाहरुल कालिकोटमा बालविवाह तथा विभिन्न परम्परा गत हानिकार अभ्यासहरु रोक्न गाउँ–गाउँमा किशोर किशोरी समूह,बालक्लब,युवाक्लब गठन गरेर जनचेतना फैलाउदै स्थानीय सरकार र अन्य सम्बन्धित सरोकारवालाहरु सँग समन्वय गरेर काम गरिरहेका छन्।

हुरेन्डेक नेपाल मार्फत बालविवाह बढी हुने क्षेत्रका रुपमा चिनिएका नरहरीनाथ गाउँपालिका,सान्नीत्रिबेणी गाउँपालिका र रास्कोट नगरपालिकामा हाल बालविवाह तथा परम्परागत हानिकारक अभ्यास बिरुद्ध अभियानलाई तिब्रता दिन किशोर किशोरीहरु सक्रियरुपमा लागेका छन्।

‘हामी जसरी पनि बालविवाह रोक्नुपर्छ भनेर लागेका छौं,‘रास्कोट नगरपालिका–२ सिओसी कक्षाका सहभागी तथा वडा युवा क्लबकी कोषाध्यक्ष दर्पना लुवारले बताईन्। उनले भनिन् ‘कतिपय हाम्रै साथीहरुको विवाहको कुरा चलिरहेको थाहापाए पश्चात हामीले रोकेकाछौं। रोक्छौं पनि।’ उनले आफूहरुको अभियानमा वडा कार्यालय र प्रहरीले पनि सहयोग गरिरहेको बताईन्। अव वडा युवाक्लब मार्फत पनि सशक्त रुपमा यस्ता खाले सामाजिक विसंगती विरुद्ध अभियान संचालन गर्ने उनको भनाई छ।

सिओसी कक्षाका सहभागीहरुले बालविवाह रोक्नकालागि चालेको कदमलाई आफूले पूर्ण सहयोग गरिरहेको रास्कोट नगरपालिका–२ का वडाध्यक्ष धुब्रराज सिम्खाडा बताउँछन्। ‘भाइबहिनीहरुले कसको घरमा बालविवाह हुनगईरहेको छ,भन्ने पत्ता लगाउँछन्। उनले भने,‘त्यसैको आधारमा हामी प्रहरीसहित गएर कानुनी कुराको साथै बालविवाहले पार्ने सामाजिक आर्थिक,मानसिक लगायतका असरको बारेमा कुरा गर्छौं।’

कालिकोटमा रणनीतिक योजनाको आधारमा बालविवाह बिरुद्ध विभिन्न क्रियाकलाप गरिदै आएका छन्। ‘बालविवाह रोक्नकालागि सवैभन्दा ठूलो कुरा जनचेतना हो। रास्कोट नगरपालिकका प्रमुख धर्मराज शाहीले भने ‘हामी अहिले व्यापक रुपमा सचेतना फैलाउने काममा लागेका छौं।’ उनले कानुनी प्रावधान बारे जानकारी हुँदाहुँदै पनिकुनै व्यक्तिले अटेरी गरे कारवाहीको दायरामाल्याउने समेत बताए ।