
श्रावण १६, काठमाडौँ – सांसदको प्रेसर थेग्न नसकेर अन्ततः एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिएका २२ मध्ये १९ सांसदले माधवको पनि साथ छोड्ने चेतावनी दिएपछि अन्तत एमाले सरकारमा सहभागी हुन् बाध्य भएको हो ।
एमालेसँग पार्टी एकता सम्भव नभएकाले अब छिट्टै नयाँ पार्टी निर्माण गरेर भएपछि सरकारमा जाने निर्णय भएको नेता मेटमणी चौधरीले बताए । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे।
शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौधरीले आफ्नो समूहबाट ६ जना मन्त्री मन्ने स्पष्ट पारे । उनले भने ,‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन। तर, समानुपातिक प्रतिनिधित्व हुनु नै पर्छ। सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं।’
मन्त्री बन्नेहरुको लिष्टसमेत तयार भइसकेको उनको भनाई छ । तयार लिष्टमा एमालेको तर्फबाट गोकर्ण विष्टले सरकारको नेतृत्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने बुझिएको छ । देउवा सरकारमा एमालेबाट विष्टसहित बेदुराम भुषाल, विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री र किसन श्रेष्ठ मन्त्री बन्दैछन् ।
झाँक्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने श्रोतको भनाई छ । गठबन्धनमा मन्त्रालयको भागवण्डा नमिलेका अरु मन्त्रालयका विषयमा टुङ्गो लागिसकेको छैन् ।



karnalipress
१६ श्रावण २०७८, शनिबार १६:२९