
श्रावण १०, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि घरमै बत्ती बालेर श्रद्धाञ्जली दिनैपर्यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो सन्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यसवर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति ।
तीन वर्षअघि आजकै दिन अथात् १० साउन २०७५ मा छोरी निर्मलालाई गुमाएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की दुर्गादेवी न्याय माग्दै हिँडेको पनि ठीक तीन वर्ष पुग्यो । तर अहिलेसम्म बलात्कारपछि उखुबारीमा लगेर निर्मलाको घाँटी निमोठ्ने अपराधीको पहिचान भएको छैन ।
गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसै बेलादेखि छोरीको न्यायका लागि गाउँदेखि नगर, नगरदेखि जिल्ला, जिल्लादेखि प्रदेश र प्रदेशदेखि संघीय राजधानी धाएकी दुर्गादेवीले न्यायको खोजी गर्न थालेको पनि तीन वर्ष बित्यो । भन्छिन्, ‘अपराधी खोजीदिनुस् भन्दै राज्यसँग हारगुहार गर्दागर्दै आज तीन वर्ष भइसक्यो । खै कहिले पत्ता लाग्ने हो । अब त आशा नै मरिसक्यो ।’



karnalipress
१० श्रावण २०७८, आईतवार ०७:५८