भीरमा घाँस काट्ने क्रममा लडेर घाइते गर्भवतीको उद्धार

६ फाल्गुन,दैलेख । भीरमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भएकी गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लाको आठबीस नगरपालिका–१ सात्तलास्थित ढांग्रेपानी गाउँकी २८ बर्षीया गर्भवती जिरा बिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

भीरबाट खस्दा उनको बाँया खुट्टा भाँचिएको र शरिरका विभिन्न भागमा चोट लागेको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए । उनि शुक्रवार बिहान गाउँ नजिकै रहेको नौतले भीरमा घाँस काट्न गएकी थिइन् । उनको गर्भमा ८ महिने शिशु रहेको बताईएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गर्भवती महिलाको उद्धार गरिएको हो । घाँस काट्न गएकी गर्भवती महिला भीरबाट लडेर गम्भिर घाइते भएको सुचना आएलगत्तै उद्धारको पहल गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । गर्भवती महिला र शिशुको ज्यान जोगाउन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगर्त हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई उद्धार सेवा सञ्चालन गरी मातृ मृत्युदरमा उल्लेख्य रूपमा कमी ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालित छ । यो कार्यक्रममार्फत पछिल्लो ६ महिनाको अवधीमा दैलेखबाट ११ जना जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार भएको छ ।