अछामा पहिरोले घर पुरिँदा १६जना बेपत्ता

असाेज १,अछाम। अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको तुर्माखाँद गाउँपालिका –५ का ९ जना र कमलबजार नगरपालिका–६ का ७ जना गरी १६ जना बेपत्ता भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिका–५,नाडामा पहिरोले दुई घर पुरिएको छ। गएराती नाडाको काँडाचौर गाँउमा गएको पहिरोले स्थानीय नेत्रबहादुर शाही,उनकी श्रीमती मनिषा शाही र छोरी बिमला शाही बेपत्ता भएका छन् । पहिरोमा रितबहादुर शाही (रिठे) कि बुहारी भावना शाही,कमला शाही तथा छोरा सून्दर शाही र उनकी दुई नातिनी पनि बेपत्ता छन् । त्यस्तै काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही पनि पहिरोमा हराएकी छन् । नेत्रबहादुर शाहीका घरका सबै सदस्यहरु वेपत्ता छन् भने रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका स्थानियले बताएका छन् ।

उद्धारका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालयमा खबर गरेपनि बिहान ८ बजेसम्म घटना स्थलमा कोहि पनि नपुगेको स्थानी टोपेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार पहिरोले अन्य कति क्षेति भयो भन्ने एकिन हुन सकेको छैन् ।