
ललित विष्ट
कार्तिक २, कालिकोट ।
पलाँता गाउँपालिका—९ दाम्रीगाडको पुल निर्माणमा बेवास्ता हुदा काठको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको छ। निर्माणाधीन पुल तिन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा नबन्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानिय पूर्णसिंह बमले बताए ।
पुल समयमा नबन्दा वर्षामा आवतजावात गर्न काठको भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ‘लामो समय पुल नबन्दा हामीलाई सास्ती भईरहेको छ।’,उनले भने,‘ रातविरात बृद्ध,बालबालिकाले जोखिम मोलेर यात्रा गर्न परिरहेको छ। न गाडि जान्छ । कहिले सम्म कष्टकर जिवन वाच्न पर्ने हो ? दाम्रीगाडको अवस्था उस्तै छ । नागरिकले दुख पाईरहेका छन्। ठेकेदारको लापरर्वाही भयो। पुल तयार भएन’
लामो समय देखि पुल बन्ने आशामा रहेका पलाँत गाउँका बासिन्दा यतिखेर निराश छन् । २०७७ मा रु. ३ करोडमा ठेक्का भएर कामसुरु गरेको दाम्रीगाडको पुलमा तिन वर्षदेखि निर्माण व्यवसायी कम्पनी जगदम्बा सुपरस्टार जेवीले काम सुरु गरेको र यसको जिम्मा निर्माण व्यवसायी तारा शाहाले पाएकी छन्। तर,पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन्।
वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ। वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन्। पुल निर्माणमा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय सुमन बमले बताए।
पुल नबन्दा त्यहाँ वर्षौंदेखि नदी तर्न काठको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन। उक्त पुल निर्माणकार्य असार मसान्तमा सकिनेगरि फेरि म्याथ थप गरेको निर्माण व्यवसायी तारा शाहाले बताईन्। पहिला कोरोना कहरले ढिलो भएको र अव छिटै काम सम्पन्न गर्नेगरी दसैंपछी काम सुरु गरिने उनले बताईन्।



karnalipress
२ कार्तिक २०७९, बुधबार २१:१९