विस्फोटक वस्तु पड्किँदा दुई बालबालिकाको मृत्यु

कार्तिक १२,कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाका जयलाल थापाको परिवार विहानै धान काट्न खेतमा गएको थियो। सात वर्षका छोरा कमल र चार वर्षीया छोरी झरना घरमै थिए। उनीहरुसँगै आफन्त र छिमेकीका छोराछोरीहरु तीन वर्षीया दर्शना राना, पाँच वर्षका मुस्कान थापा, चार वर्षीया सरस्वती र सात वर्षीय कमल थापा पनि सँगै थिए।

घर नजिकैको कोदो बारीमा खेल्नेक्रममा बालबालिकाहरुले खेलौनाजस्तो बस्तु फेला पारे। उक्त बस्तुसँग खेल्ने क्रममा शनिबार विहान आठ बजेतिर विष्फोट हुँदा चार वर्षीया झरनाको घटनास्थलमै मृत्यु भयो। सँगै खेल्दै गरेका अरु बालबालिका घाइते भए। घाइतेहरुलाई तत्काल हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइयो। घाइते मध्येकी चार वर्षीया सरस्वती रानाको पनि मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार कोदो बारीमा खेल्ने क्रममा बालबालिकाले फेला पारेको खेलौना जस्तो बस्तु खेलाउँदा विष्फोट भएको हो। ‘द्वन्द्वका क्रममा तत्कालीन द्वन्द्वरत पक्षले छोडेको विष्फोटक पदार्थ हुनुपर्छ,’ उनले भने, ‘बालबालिकाले उक्त विष्फोटक पदार्थ नचिन्दा खेल्ने क्रममा विष्फोट भएको हुनुपर्छ।’

जयलाल थापाका दुई छोराछोरी हुन्। विष्फोटमा परेर छोरीको मृत्यु भयो। छोरा अस्पतालको शैय्यामा छन्। ‘हामी विहानै काममा जाने भएकाले छोराछोरीलाई हजुरबुवाको गएर खेल्नु भनेका थियौं,’ उनले भने, ‘हजुरबुवाको घर नगएर उनीहरु कोदो बारीमा खेल्न गएछन्, विष्फोटको आवाज आएपछि हेर्न कोदोबारी धुलोले ढाकिएको थियो, छोराछोरीहरु चिच्याइरहेका थिए।’ जयलालका अनुसार चार घरका बालबालिकाहरु एकै ठाउँमा खेलिरहेका बेला घटना भएको हो।

बालबालिकाहरु नजिकैको कालिका आधारभूत विद्यालयमा अध्ययन गर्थे। आइतबारबाट विद्यालय खुल्दै थियो। प्रहरीका अनुसार विष्फोट भएको बस्तु द्वन्द्वकालमा छोडिएको सकेट बम हो। जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक सुबराज बमको कमाण्डमा २३ जना प्रहरी टोली खटाएको छ। ‘घटना हुनुको कारण, विष्फोटक पदार्थको विवरण र नजिकको क्षेत्रमा खानतलास गर्नका लागि निर्देशन दिइएको छ,’ डिएसपी रिमालले भने, ‘अनुसन्धानपछि थप विवरणहरु प्राप्त होलान्।’