
कार्तीक १५ कालिकोट। कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो ।
भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए ।
पहिरो स्थायीरुपले रोकथामका लागि विपत व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काम मात्रै हुने अध्यक्ष केसीले जानकारी दिए ।
‘पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ’, उनले भने,‘पहिरो रोक्ने दीर्घकालीन उपायका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ।’ सडक खुलाउनका अहिले डोजर प्रयोग भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा आउने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।
‘पहिरो रोकिनासाथ करिडोर खुलाउने योजनाका साथ मेसिन र जनशक्ति तयारी अवस्थामा राखेका थियौँ।’, उनले भने,‘मङ्गलबारबाट पहिरो रोकिएका कारणले आज बिहानैबाट पहिरो खुलाउन थालिएको छ । भोलिबाट करिडोर पूर्ण रुपमा सञ्चालनमा आउँछ ।’
कर्णाली करिडोर अवरुद्ध हुँदा कालिकोट,बाजुरा,हुम्ला र मुगु जिल्लाका स्थानीयवासीले कष्टपूर्ण यात्रा गर्दै आएका थिए । कर्णाली करिडोर सञ्चालनमा आए नागरिकलाई यात्राका लागि सहज हुने कालिकोटको पचालझरना गाउँपालिकाका भिम आचार्याले बताए ।
कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर रहेको छ ।
कर्णाली राजमार्गमा पनि सास्ती,
कर्णाली राजमार्गमा पनि पटक–पटक जाने पहिरोले यात्रुलाई मात्र होइन,सवारी चालक र गाडीधनीहरुलाई समेत पिरोल्ने गरेको छ।। सडक सञ्चालनमा आएको एक दशक बितिसक्दा पनि कर्णाली राजमार्ग ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको यात्रुहरु बताउँछन्।
दैनिक रुपमा सयौं सवारीसाधन सञ्चालन हुने यस राजमार्गमा वर्षातको समय सुरु भएसँगै कतिखेर गाडीमाथि पहिरो खस्छ भन्ने चिन्ताले यात्रु तथा सवारी चालकलाई पिरोल्ने गर्छ। यही जोखिमका कारण यो राजमार्ग ‘मृत्यु–मार्ग’ का नामले बदनाम पनि छ।
राजमार्गमा पहिरोको सास्तीले स्थानीय यात्रुका साथै यस क्षेत्रको चर्चित पर्यटकीय स्थल रारा लगायतका क्षेत्र घुम्न आउने पर्यटकहरुले पनि समस्या खेप्ने गरेका छन्। राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’ सडकको रुपमा निर्माण गरे यता स्तरोन्नतिमा ध्यान नदिएको यहाँका कर्णालीवासीको गुनासो छ।
‘सडक साँघुरो छ, त्यसमाथि पहिरोले सडकनै बगाएको छ। यात्रा गर्न सास्तीपूर्ण हुने गरेको छ।’, दैलेखका नविन बिष्टले भने, ‘पहिरो जाँदा राजमार्ग हप्तौंसम्म अवरुद्ध हुन्छ सरकारले पनि वास्ता गदैन्। प्रत्येक वर्ष विकास–निर्माणका नाममा करोडौं खर्च गरे पनि कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारले ध्यान नदिएको उनले बताए।
विगत केही वर्षयता सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा आउने पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन सडक विभागलाई आग्रह गर्दै आएको छ। तर, विभागबाट छिटै समाधान खोज्ने आश्वासन दिने बाहेक प्रभावकारी काम हुन सकेको छैन।
karnalipress
१७ कार्तिक २०७९, बिहीबार ०८:०८