सुनथराली विमानस्थलको कालोपत्रेको सुरु

कार्तीक २९, कालिकोट।  नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्रको काम सुरु भएको छ। ३७ बर्ष पुरानो विमानस्थलको टावर,भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कामसुरु भइरहेको निर्माण कम्पनीले जनाएको छ।
लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थलले पछिल्लो समय गति लनि थालेको छ। विमानस्थलसम्म सडक नपुग्नु,विगतको सशस्त्र द्वन्द्व,कोभिड लगायतका कारणले विमानस्थलको काम कछुवा गतिमा भईरहेको थियो । यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समयसीमा दिएको छ।

धावनमार्ग ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई रहने स्टिमेट छ। श्रोतका अनुसार २०४२ साल यता ३९ करोड रकम विमानस्थल निर्माणमा अहिलेसम्म खर्च भइसकेको छ। कालिकोट सदरमुकाम मान्मबाट हिँडेर चार घण्टामा विमानस्थल पुगिन्छ। अहिले सडक पुगेको छ। तर, निकै सकसपूर्ण सडकको अवस्था रहेको छ। असार मसान्तसम्म विमानस्थल पूर्ण रुपमा निर्माण कार्य सकिने गरी काम भइरहेको विमानस्थल निर्माणमा खटिएका नेपाल नागरिक उड्डययन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए।

विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरुलाई सकसपूर्ण भएको जनाइएको छ। ‘कच्ची, अफ्ठ्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ।’ गौरी पार्वती/श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीले शुक्रबारबाट धावनमार्ग कालोपत्रे गर्ने कामसुरु गरेका छौं। असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।’

गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पिच गर्ने,नाला,माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँ भ्याटसहित ठेक्का लिएको छ। त्यस्तै भवन र टावर निर्माणका लागि पिआर ईन्फ्रास्टक्चरले ३ करोड ४७ लाख ७४ भ्याटसहित ठेक्का लिएर काम सुरु गरिएको हो। २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर कामसुरु गरेको सुनथराली विमानस्थलको कालोपत्रेको काम ३७ बर्ष पछि सुरु भएको छ।