
ललित विष्ट
मंसिर १८, कालिकोट ।
कर्णाली करोड अन्तर्गत कालिकोटको पचालझरना गाउँपालिका -३ को लाफामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। शनिवारदेखि सुख्खा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको पलाँताका स्थानिय मानबहादुर भन्डारीले बताए ।
‘कर्णाली करिडोर अवरुद्ध भएको त दुई दिन भयो’, उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो, योपटक करिडोरको लाफामा सुख्खा पहिरो जाँदा करिडोमा ठूलो क्षति गरेको छ। बाजुरा,मुगु लगायत स्थानीय सयौं यात्रुहरू र बिरामीहरू अलपत्र परेका छन्।’
पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ। पहिरो पन्छाउनका लागि पहल थालिएको प्रहरीले जनाएको छ।
कर्णाली करिडोरको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेको भए पनि अहिले सुख्खा पहिराको कारणले यातायातका साधन चल्न सकेका छैनन्। अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने स्थानिले बताएका छन्। करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्याश्यक बस्तुको ढुवानी रोकिएको छ ।
karnalipress
१८ मंसिर २०७९, आईतवार १४:००