सेवामैत्री प्रशासन

फागुन १८,कालिकोट । कार्यालय हाताभित्रै पर्याप्त फर्निचरसहितको आकर्षक प्रतीक्षालय,रंगीन टेलिभिजन, फ्रि वाइफाई र सेवाग्राहीको मोबाइल चार्ज गर्ने व्यवस्था । छेउमै खानेपानीसहित शौचालय गएर आएपछि हातधुने साबुनपानी । गाउँबाट नागरिकता,राहदानी,कागजात सच्याउनेलगायत सेवाका लागि जिल्ला प्रशासन कार्यालय आउने सेवाग्राही सेवाग्राही सन्तुष्ट भएर फर्किन्छन् । जिल्ला प्रशासन कार्यालयले कुन सेवाग्राहीको काम कतिबेला सकिन्छ भनेर सुरुमै जानकारी दिने गरेको छ ।

‘बस्ने,आराम गर्ने,टीभी हेर्ने,नेट चलाउने सबै सुविधा रहेछन्,’ हराएको नागरिकताको प्रतिलिपि लिन आएका खाडाचक्र–३ का भक्तबहादुर शाहीले भने, ‘एक घण्टामै काम सकियो ।’ नरहरिनाथ–३ कुमालगाउँबाट राहदानीका लागि निवेदन दिन आएकी रजनी बिष्टले प्रशासन कार्यालयमा मोबाइल चार्ज गर्न गर्ने, टीभी हेर्ने, इन्टरनेट चलाउनेलगायत सुविधा भएपछि समय बितेको पत्तै नभएको बताइन् । ‘कुनै बेला गेटमै प्रहरीले के काम छ ? किन जाने ? भनेर अनेक प्रश्न गरेर केही समय रोक्थे,’ उनले भने, ‘कर्मचारीको व्यवहार पनि नागरिकमैत्री रहेछ ।’

जिल्लाको शान्ति सुरक्षा,विपद् व्यवस्थापन,नागरिकता, राहदानी,अख्तियार दुरुपयोग अनुसन्धानलगायत अर्धन्यायिक निकायको रूपमा काम गर्ने जिल्ला प्रशासनलाई सेवाग्राहीमैत्री बनाउन तत्कालीन प्रजिअ रामहरि शर्माले गरेको व्यवस्थापन प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले पनि निरन्तरता दिएका हुन् ।

अध्ययन कक्षमा पुस्तक पढ्ने बढ्दै
प्रहरी कार्यालय कालिककोटले स्थानपना गरेको अध्ययन कक्षमा पुस्तक पढ्ने बढदै गएका छन्। रातदिन जनताको सुरक्षामा खट्ने प्रहरी फुर्सदको समयमा अध्ययनमा व्यस्त छन्। साहित्यिक मनका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले प्रहरी र थुनुवामा सकारात्मक सोचको विकास गर्न पढ्ने बानी बसाल्न आफ्नै कार्यकक्षमा अध्ययन कक्ष (शिविर) सुरु गरे ।
‘रिमालले भने, ‘थुनुवा, प्रहरी कर्मचारी र अध्ययनमा रुचि भएका पाठकले यसबाट लाभ लिन सक्छन्।’ उनले बाल बिज्याइँ गरेर आएका बालबालिका, थुनामा परेका महिलाका लागि स्थापना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रलाई व्यवस्थित बनाउने क्रममा ३८ हजार मूल्यको किताब खरिद गरिएको बताए । थुनुवाका लागि जतिखेर पनि अध्ययन गर्न पाउने गरी समय तालिका बनाइएको छ ।
अध्ययन कक्षमाको लागी सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पनी केही थान पुस्तक सहयोग गरेका छन् । प्रहरीका लागि भने बिहान ८ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्मको अध्ययन समय तोकिएको छ ।
प्रहरीले सुरुवात गरेको कामको प्रशंसा गर्दै यहाँका स्थानीय तहले पनि थप पुस्तक र पुस्तकालयका लागि आवश्यक फर्निचरलगायतका सामग्री सहयोग गर्ने वाचा गरेका छन् । ‘लेट्स रिड टुगेदर’ अर्थात् ‘सँगसँगै पढौं’ भन्ने नाराका साथ सुरु गरिएको पुस्तकालय अवधारणा प्रहरीका लागि नयाँ भएकाले प्रहरी पनि अध्ययनमा उत्सुक रहेको सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुवराज बमले बताए ।

अहिले प्रहरीको किताब कुनोमा कालिकोटकै लेखक बुद्धिसागरको कर्नाली ब्लुज, फिरफिरे, नारायण वाग्लेको पल्पसा क्याफे, झमक घिमिरेको जीवन काँडा कि फूल, हरिवंश आचार्यको चिना हराएको मान्छे, सुविन भट्टराईको साया र समर लभ, पारिजातको शिरीषको फूल, अमर न्यौपानेको गुलाबी फूल, करोडौं कस्तुरी र सेतो धरती, सरस्वती प्रतीक्षाको नथिया, चन्द्रप्रकाश बानियाको महारानीलगायतका साहित्यिक पुस्तक छन्।

स्थानीय युवामा पढ्ने बानी बसाल्न जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरेर पढ्न चाहनेलाई भर्पाई गरेर किताब घर पनि लैजान दिने योजना प्रहरीको छ । सुरक्षामा खटिनुपर्ने प्रहरी पनि किताब पढेर बस्छन् भन्दा सुन्नेलाई अनौठो लागे पनि समाजमा सकारात्मक सोचको विकास गर्न पुस्तकालयको आवश्यकता रहेको प्रहरी कार्यालयले जनाएको छ ।