
बैशाख १६,कालिकोट । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मा वादी समुदायको बसोबास छ । गीत गाएर दैनिकी चलाउने यो समुदायसँग उब्जाउने जमिन छैन्। ओत लाग्नका लागि पुग्दो घर छैन्। बालबालिका पढ्न होइन्,दैनिकी चलाउन बजारमा माग्ग्दै हिँड्छन्। कोही विरामी परे उपचार पाउँदैनन्। राज्यको नजर त झन यो समुदाय तर्फ परेकै छैन्। खानेपानीको धारा छैन्। ओत लाग्ने ठाउँमा विजुलीको तार पुगेको छैन्।
वादी समुदाय र यसले भोगीरहेका पीडाका विषयमा पटक पटक समाचार प्रकाशित भएपछि अहिले पढ्न नपाएका बालबालिकाका लागि सहयोगी जुटेका छन्। वर्षौदेखि खानेपानीको अभाव झेलिरहेको यो समुदायको आँगनमै पानीको धारा पुगेको छ ।
खानेपानी र खाद्यान्न
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका वादी समुदायले अहिले आँगनमै खानेपानी पाएका छन्। प्रकाशित भएपछि वादी समुदायका १६ घरपरिवारका लागि पानीको जोहो भएको हो। ‘व्यवस्था फेरियो, अवस्था उस्तै’ शीषैकमा प्रकाशित समाचार पछि अमेरिकामा बस्ने अरुण बाँस्कोटा र प्रकृति केसीले वादी समुदायमा खानेपानीको प्रवन्ध गर्नुका साथै खाद्यान्न समेत वितरण गरेका छन्।

अमेरिकामा रहेका बाँस्कोटाले वादी समुदायको अवस्थाका बारेमा समाचार पढेपछि सहयोग गरेको बताए । कालिकोटका वादी समुदायले भोगीरहेका समस्याका बारेमा समाचार पढेपछि सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’उनले भने, १६ घरका लागि खानेपानी र केही छाकका लागि खाद्यान्नको जोहो गरिदिएको हुँ ।’
अर्का सहयोगी प्रकृति केसीले सिमान्तकृत समुदायलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । यस्ता समुदायलाई नेपालमा रहेका तीन तहका सरकारले हेर्नुपर्ने हो, समाचार पढ्दा दुःख लाग्यो,’ उनले भने, मेरो थोरै सहयोगले उनीहरुलाई केही राहत पुग्छ भन्ने लागेर सहयोग गरेकी हुँ ।’ अहिले १६ घरपरिवार वादी समुदायका लागि आँगनमै पानी आइपुगेको छ । अरुण बाँस्कोटा र प्रकृति केसीले नेपालका विभिन्न जिल्लाका अनाथ,अपाङग,टुहुराहरुलाई सहयोगगदै आएका छन्।

बालकको उद्दार परिवारमा खाद्यान्न सहयोग
खाँडाचक्र नगरपालिका–२ को भाटाकाटियाँका दलित समुदायका एक बालकको काठमाडौंको एक स्कुलले उद्दार गरेको छ । आमा–बुवाको निधन भएपछि दिदीको सहारामा रहेका दलित परिवारका ११ वर्षीय बालक दिनेश नेपालीको काठमाडौंको एआइएमएस एकेडेमी लगनखेलले उद्दार गरेको हो ।
खाँडाचक्र नगरपालिका–२ का हसिंगे दमाईको सात वर्षअघि मृत्यु भएको थियो । दुई वर्षअघि उनकी पत्नी जसुदा दमाईको पनि मृत्यु भयो । हसिंगे र जसुदाबाट जन्मिएका सात सन्तान मध्ये पाँच सन्तान साहाराको खोजीमा छन् । ति मध्ये एक बालकको उद्दार भएको हो । उनलाई अमेरिकामा बसोबास गर्ने अरुण बाँस्कोटा र प्रकृति केसीले काठमाडौंमा निशुल्क पढ्ने व्यवस्था मिलाएका हुन् ।

उक्त परिवारमा खाद्यान्न सहयोग पनि गरिएको छ । अति विपन्न,अनाथ तथा दलित समुदायका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरिएको हो । अमेरिका बासी प्रकृति केसीले नागरिककर्मी सँगको सहकार्यमा खाद्यान्न वितरण गरेकी हुन्। ११ वर्षीय बालक दिनेश नेपालीका आमा–बुवा गुमाएर साहाराको खोजीमा रहेका पाँच दिदि भाईलाई केही राहत होस् भन्ने उद्देश्यका साथ उनीहरुलाई खाद्यान वितरण गरिएको हो।
केसीले चामल,दाल,नुनलगायत दैनिक उपभोग्य सामान सहयोग गरेकी हुन्। अरुण बाँस्कोटाको आर्थिक सहयोगमा कालिकोटकै १७ वर्षिया किशोरीलाई पनी नगद सहयोग गरिएको छ। घरेलु हिंसाको पिडामा रहेकि किशोरीलाई नगद सहयोग गरिएको हो ।




karnalipress
१५ बैशाख २०८०, शुक्रबार ११:२५