
बैशाख १६,सुर्खेत — कर्णाली प्रदेशको डोल्पा विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।
प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याएको जनाएको छ । सो प्रसारण लाइनबाट सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ‘योसँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्’ प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए । ‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि टेण्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने ‘डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघुजलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत हुनेछ, साथै जिल्लाभर विद्युत् सेवा विस्तार गरी विद्युतीकरणका लागि काम भइरहेको छ ।’
प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रहरुमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत् आपूर्ति दिइरहेको छ । डोल्पामा प्राधिकरणका करिब १ हजार ७ सय ग्राहक छन् । डोल्पाका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत आपूर्ति भइरहेको छ ।
प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैक (ईआईबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गरिरहेको छ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत् पहुुँच विस्तारमा खर्च भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए । चौखा र त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेसनहरु निर्माण हुनेछन् । लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले उल्लेख गरे ।



karnalipress
१५ बैशाख २०८०, शुक्रबार १३:४२