
ललित विष्ट जेष्ठ १४,कालिकोट । राष्ट्रिय वाणिज्य बैंक कालिकोट शाखाको नाममा रहेको जग्गामा एकीकृत भवन निर्माण भएको छ।
राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको ४ सय ८० वर्ग मिटर जग्गा मध्य १६ वर्ग मिटर मोडा ३४ वर्ग मिटर पिछाड गरि जम्मा ७ मिटर जग्गामा अनुमति बिना एकीकृत भवन तयार भएको हो।
जिल्ला हुलाक कार्यालयको नाममा रहेको जग्गामा तयार गरिएको भवनले राष्ट्रिय वाणिज्य बैंकको जग्गा समेत मिचेर भवन तयार गरेको राष्ट्रिय वाणिज्य बैंक कालिकोट शाखाका प्रबन्धक गोरखबहादुर शाहीले बताए।
‘राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको जग्गा लिजमा लिने प्रतियोजनको लागि खोजी गर्दा जग्गामा भवन तयार भएको भेटियो।’ उनले भने ‘अब कानुनी प्रक्रियामा अगाडि बढाई भवन हटाउन राष्ट्रिय वाणिज्य बैंकले जिल्ला प्रशासनलाई पत्राचार गरी हटाउन लगाउने छ।’
अहिले पनि जिल्लाको खाँडाचक्र नगरपालिका-१ मा रहेको एकीकृत भवन भएको जग्गा जिल्ला हुलाक कार्यालयको नाममा रहेको र त्यो संगै रहेको जग्गामा भवन तयार भएको पाइएको छ। अहिले पनि उक्त स्थानमा दुई वटा ठूला एकीकृत भवन निर्माण गरिएको छ। अहिले एक भवनमा जिल्लाका हुलाक कार्यालय, निर्वाचन कार्यालय र घरेलु कार्यालय बसेका छन्। अर्को भवनमा सरुवा रोग अस्पतालले सेवा दिइरहेको छ।
जिल्ला नापी कार्यालय कालिकोटका अनुसार पहिले भवन निर्माण गर्दा नापी नगरेर लगाइएकोले हुलाक कार्यालयले आफ्नो जग्गा बचाएर राष्ट्रिय वाणिज्य बैंकको जग्गा च्यापेर भवन तयार गरिएको छ।
नापी कार्यालयका सूचना अधिकारी पुनम बिश्वकर्माका अनुसार कार्यालय अहिले हुलाकको नाममा छ। उनले भवन निर्माण गर्दा नापी कार्यालयलाई केही खबर नगरी भवन तयार गरिएको बताए। पछि भवन तयार गर्दा राष्ट्रिय वाणिज्य बैंकको ७ मिटर जग्गा मिचिएको पाइएको उनले सुनाए। जिल्ला मालपोत कार्यालयका अनुसार उति बेला जग्गा नाप्दा समस्या देखिएको थियो।
स्थानीयहरुले अर्काको जग्गामा भवन तयार गरिनु न्यायोचित नभएको बताउँछन्। भवन निर्माण गर्दा दाबी गइनुपर्नेमा अहिले आएर चार वर्षपछि दाबी गर्नु उचित नभएको जिल्ला हुलाक कार्यालय कालिकोटका टोपबहादुर शाहीले बताए। उनले आफूलाई यो विषयमा खासै जानकारी नभएको बताए।



karnalipress
१४ जेष्ठ २०८०, आईतवार १८:३४