सडक दुर्घटनामा परी एक हप्तमा ५ जनाको मृत्यृ

  •  ३ वर्षमा ७८ वटा सडक दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाएका छन् भने १ सय ३३ जना घाइते भए । तीमध्ये अधिकांश जिप दुर्घटना नै छन्।
    ललित विष्ट
    जेठ ३०, कालिकोट । रास्कोट २ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो । दुबै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

बिहीबार बिहान रास्कोटबाट मान्म आउने क्रममा बोलेरो जिपमा यात्रु चढाएर गाडी स्टार्ट भएकै अवस्थामा चालक बाहिर निस्किँदा गाडी पछाडि गुडेर दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाएका मनबहादुर शाहीका जेठा छोरा पारस भने अप्ठेरो सडकमा ड्राइभरले लापरबाही गरेकाले दुर्घटना भएको बताउँछन्।

शनिबार राति सुर्खेतबाट शुभकालिका आएको जिप हाउडी गाउँको पारिपट्टी चिसापानी भीरमा अनियन्त्रित भइ खोलामा खस्दा शुभकालिका २ भर्ताका चालक हर्के कामी, स्थानीय रामबहादुर शाही र सडक काट्ने डोजर चालक गोपाल सलामी मगरको घटनास्थलमै मृत्यु भएको थियो ।
कच्ची र साँघुरो सडकमा राति ११ बजे गाडी चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए । ’कालीकोटको भूगोल नै अप्ठेरो छ । त्यसमा पनि डोजर चालक आफैं ईन्जिनीयर बनेर खनेका सडकमा गाडी दुर्घटनाको जोखिम बढी छ,’ डीएसपी रिमालले भने । कालिकोटको बीच भागबाट खनिएको कर्णाली राजमार्ग सुर्खेत जुम्म्ला सडक र कर्णाली नदीको तिरैतिर खनिएको कर्णाली करिडोर पनि साँघुरो र अप्ठेरो भएकाले दुर्घटना हुने गरेको उनी बताउँछन्।

वातावरणीय प्रभाव मूल्यांकन बिना नै गाउँगाउँमा डोजर चालाइँदा ग्रामीण सडकले बढी जोखिम निम्त्याएको स्थाीयको भनाई छ । रातिको समयमा सवारी नचलाउने जिल्ला प्रशासनको निर्णय भए पनि अवमुल्यन गरी राति गाडी चलाउँदा शुभकालिकामा दुर्घटना भएको प्रशासन कार्यालयले जनाएको छ ।

एक साताभित्र दुईवटा सडक दुर्घटना भएको सुनाउँदै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकार, प्रहरी प्रशासन र सवारीधनीको पनि भूमिका रहने बताए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार ३ वर्षमा ७८ वटा सडक दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन् भने १ सय ३३ जना घाइते भएका छन् । र तीमध्ये अधिकांश जिप दुर्घटना नै थिए । ७८ वटा दुर्घटनामध्ये २७ वटा जिप दुर्घटना परेको तथ्यांक छ ।

आर्थिक वर्ष ०७७/०७८ मा १७ वटा ०७८/०७९ मा २५ र ०७९/०८० मा ३६ सवारी दुर्घटना भए । पहिलेभन्दा दुर्घटना र मानवीय क्षति पनि बढ्दै गएकाले सडकको स्तरोन्नति, ट्राफिक नियमको पालना लगायतका कुरामा ध्यान दिनुपर्ने प्रहरी निरीक्षक बम बताउँछन्।

उनका अनुसार कालिकोट खण्डमा मात्रै ३ वर्षमा १७ वटा ट्रक, ९ वटा बस र मिनी बस, २७ जिप, भ्यान, ६ ट्याक्टर, ११ मोटरसाइकल, ७ अटो रिक्सा, १ जेसीबी दुर्घटनामा परेका छन्।

साँघुरो र कच्ची सडकमा कतिपय चालकहरू नै बिना अनुमतिपत्र सवारी चलाउने गर्छन्। केही त मदिरा सेवन गर्नुका साथै सिट क्षमताभन्दा धेरै यात्रु बोकेर सवारी गरेको प्रहरीको रिपोर्टमा छ ।
यसवाहेक कर्णाली राजमार्गमा रहेका प्रहरी चौकी पनि जाँचको नाममा चालकबाट पैसा असुल्ने धन्दामा सक्रिय हुने गरेको गुनासो बढेको छ । ड्यूटीमा रहेका प्रहरीलाई घुस दिएर सवारी नियम उल्लंघन गर्ने गरेको पनि पाइएको छ ।

तस्विर
ग्रमिण सडक शुभकालिका गाउँपालिकामा भएको जिप दुर्घटना