
प्रेस भाद्र २२ ,कालिकोट— कालिकोटको खाँडाचक्र १ मान्मबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । पतिसँग झगडा परेपछि कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् ।
उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका थिए। गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ ।
पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।
मान्म बजारमा ’शाहीजी इलेक्ट्रोनिक्स’ संचालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने स्थानीयको भनाइ छ।
मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन् । दैलेख भगवतीमाई ५ कट्टी स्थायी ठेगाना भइ मान्म बजारमा बस्दै आएका दानबहादुर शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन् ।
दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वनिक भएको थियो ।
कालिकोटका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । आमाछोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले शुक्रबार बिहानैदेखि मान्म बजारमा प्रदर्शन गर्दै शाहीको घरमा ढुंगामुढाको प्रयास गरेपछि प्रहरीले उनको मान्मस्थित घरमा सुरक्षा दिइरहेको छ । आफन्तले महिला र बाल हिंसाविरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।
karnalipress
२२ भाद्र २०८०, शुक्रबार १६:३३