एमाले कर्णालीको उपसचिवमा शाहीलाई हटाएर खड्कालाई जिम्मेवारी

कालिकोट। नेकपा एमाले कर्णाली प्रदेशको उपसचिव पदमा विजयी घोषणा गरी सपथ खाएका रमेश शाहीलाई हटाएर पद्मा खड्कालाई बहाल गर्ने निर्णय भएको छ । एमालेको केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको पत्राचार महासचिव शंकर पोखरेलले (मंगलबार) प्रदेश कमिटीलाई गराएका हुन् ।

प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षण हुन सकेको थिएन । महिला कोटा हुनुपर्ने दावीसहितको निवेदन परेपछि सचिवालय कमिटीले उक्त निर्णय गरिएको जनाइएको छ ।

निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ, ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने । रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने ।’

 नेकपा एमालेले पद्मा खड्कालाई उपसचिव पदमा बहाल गर्न कर्णाली प्रदेश कमिटीलाई दिएको निर्देशनमा उपसचिवमा निर्वाचित भएका रमेश कुमार शाहीले आपत्ति जनाएका छन् । एमाले कर्णाली प्रदेश कमिटीको पदाधिकारीमा महिला आरक्षण नगरिएकाले खड्कालाई उपसचिवको पदमा कायम गरिएकोमा शाहीले सामाजिक सञ्जालमा आपत्ति जनाएका हुन् ।

प्रदेशले नयाँ नेतृत्वको निर्वाचनमा उपसचिव रमेश शाही निर्वाचित भएका थिए । शाहीले २९९ मत ल्याएर उपसचिव पदमा विजयी भएका थिए ।