अन्तत पाए देवराजले नागरिकता

ललित विष्ट मंसिर २३,कालिकोट ।
२० वर्षदेखि भारतमा बेपत्ता भएका कालिकोटको रास्कोट नगरपालिका–८ का देवराज धमलाको नाममा नक्कली देवराज बनेर नागरिकतासहित उनको बुवाको नाममा भएको जग्गा सबै हात पारेका भारतीयको नागरिकता रद्द गरी सक्कली देबराजलाइ नागरिकता प्रदान गरीएको छ ।
गत असोजमा रास्कोटका बासिन्दा भन्दै भारतीय नागरिकलाई स्थानीय जनप्रतीनिधी र आफ्न्तले भिडाएर त्यहीँकी महिलासँग विवाह गराई घर ल्याएपछि आफन्तले हराएको देवराज फर्कियो भनेर गाउँमा स्वागतगर्दै उनको बुबाको नामबाट नागरिकता लिन जनप्रतीनिधीले सहयोग गरे । साथै भारतीय देवराजलाई जग्गा नामसारी गर्नपनि सहयोग गरे । नक्कली कागजात जुटाएर कालिकोट जिल्ला प्रशासनबाट रास्कोट नगरपालिका– ८ बाहुनथानका देवराज धमलाको नामबाट भारतीय नागरिकलाई नागरिकता थमाइयो ।

रास्कोट–८ का बुबा मणिनाथ धमला र आमा ओकला धमलाका एक्लो छोरो भएको कागजात पु¥याएर २०७९ मंसिर १३ गते वंशजको आधारमा नागरिकता लिएका भारतीयको नागरिकता अहिले रद्द गरी सक्कली देवराजलाई नागरिकता प्रदान गरीएकको छ ।
एउटाले नागरिकता र सम्पत्ति आफ्नो नाममा बनाएपछि अर्को म सक्कली हुँ भन्दै आएपछि समस्या भएको थियो । ‘भारतीयको नागरिकता खारेज भएपछि सक्कलीले नागरिकता पाएका छन् । उनले ९ महिना पछि नागरिकता पाएका छन्। सक्कली देवराजले भने मलाई धेरै दुःख भयो । बारबार मान्म र रास्कोट गनुपर्यो ।’ उनका अनुसार नागरिकता लिन वडाले सिफरिस नदिदा धेरै समस्या थपिएको बताए । उनले भने ‘मेरो ३० हजार खर्च भयो नागरिकता पाउनलाई जग्गा जमिन मेरो नाममा गर्नबाकी छ ।’
सक्कली देवराज…….
देवराज गाउँमा फर्किंदा ‘वर्षौं बेपत्ता भएको देवराज आयो भनेर आफन्तले भोजभतेर नै गरेका थिए । भोज खान र खुसियाली मनाउन जनप्रतिनिधिसहितका सबै गएका थिए । मंसिरमा वडाले बुबाआमा बितेकाले मृत्यु दर्ता गरेर नाता प्रमाणित गरी नागरिकताको सिफारिस गरेको थियो । त्यसपछि नक्कली देवराजले मंसिर २३ मा जिल्ला प्रशासनबाट नागरिकता पाएका थिए ।

‘बेपत्ता भएको व्यक्ति आयो भनेर आफन्तले सर्जिमिन गरेपछि नागरिकता सिफारिस गरें,’ रास्कोट–८ का वडाध्यक्ष मनिराज बरालले भने, ‘काका गोकर्ण धमलाले भोगचलन गर्दै आएको जग्गाजमिन पनि सबै उसैको नाममा नामसारी भयो । चैतमा देवराज म हुँ भनेर अर्को आएपछि बबाल भयो । गाउँमा त सनसनी नै मच्चियो । दुई दिनसम्म कचहरी चल्यो ।’
गाउँमा टुंगो नलागेपछि कालिकोट जिल्ला प्रशासनसम्म खबर पुग्यो । प्रशासनले दुवै पक्ष झिकाएर कुरागर्दा पहिले आएको नक्कली रहेको ठहर भएको वडाध्यक्ष बरालले बताए ।
कालिकोट जिल्ला प्रशासनमा न्याय माग्न आएका देवराजले हिन्दीमा कुराकानी गर्दै घर आउँदा अर्कैले नागरिकता,जग्गाजमीन र सम्पत्ति हडपेको देखेर गाउँका आफन्तले नै षड्यन्त्र गरेको हो कि भन्ने लागेको बताए ।

उनले भने आफ्नो बुबाको नाममा नागरिकता र चलअचल सम्पत्ति सबै आफूले पाउनुपर्ने बताए । उनीसँग यहाँको नागरिक भएको अरु प्रमाण नभए पनि गाउँकै जन्मदेव पण्डितले बनाइदिएको पुरानो जन्मकुन्डली (चिना) साथमा छ । उनी आफ्नो मामाघर कलिकोटको तिलोभीड रहेको बताउँदै आफ्नो उमेर समूहका गाउँका सबै साथीसंगीको नाम सुनाउन सक्छन् ।

गाउँको सर्जिमिन मुचुल्कासहित वडाको सिफारिस आएपछि नक्कली देवराज धमलाको नाममा ६१–०१–७९–०२९४९ नं को नागरिकता कालिकोट जिल्ला प्रशासनबाट नक्कली भएको प्रमाणसहित गत जेठमा गृह मन्त्रालय राय पठाएको थिए । मन्त्रालयले छानबिन गरेर गत बिहीबारको मन्त्रिपरिषदबाट नक्कली देवराजको नागरिकता खारेज गरेको थियो ।

सबै कागजात मिलाएर ल्याएपछि सक्कली देवराजले शुक्रबार सहायक प्रजिअ सरोज अधिकारीले नागरिकता प्रदान गरेका हुन्। प्रजिअ अधिकारीले नागरिकता दिदै धर्यताकोलागि धन्यवाद दिए । नागरिकता पाउदा उनको जिवनमा खुसी छाएको छ । देवराज अब अर्काको नाममा रहेको जग्गा आफ्नो नाममा गरी घरमा रहेको धन सम्पनीको खोजीमा छन् ।