पचालझरनामा ई–हाजिरी लागू

मंसिर २८,कालिकोट। पचालझरना गाउँपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिकाले रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन शुरु गरेको हो । गाउँपालिका भित्र सुशासन तथा समय व्यवस्थापन गर्न गाउँपालिकाको कार्यालयमा, सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको सूचना अधिकृत प्रकाश कुमार कठायतले बताए ।

उनका अनुसार ढड्डा हाजिरी हुँदा आफूखुशी अफिस आउने र आइहालेका कर्मचारी पनि शाखामा नभेटिने समस्या भएको कारण ई–हाजिरीको व्यवस्था गरिएको हो । उनले भने,‘गाउँपालिकामा जे समस्या थियो त्यो अन्त्यको लागि डिजिटल हाजिरी सुरु गरीएको छ । हिजो नभेटिने कर्मचारी ड्युटीमै भेटिने विश्वास छ।’

कर्मचारी समयमा उपस्थित नहुँदा सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहोस् भनेर यो प्रविधि लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिए । अहिले गाउँपालिकामा मात्र लागुहुनेगरी राखिएको उनको भनाई छ। कर्मचारी कुन समयमा उपस्थित भयो भनि सजिलै अभिलेख हेर्न र छाप्न सकिने भएकाले यसको प्रयोगले कार्यालयको हरेक काम काजगर्न सहज हुने भएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत ४८ जना कर्मचारीहरुले बिहान आउँदा र बेलुली घर फकदा ई–हाजिरीमा ल्याप्चे लगाउनुपर्ने छ।