नुन लिन नागरिकता !

ललित विष्ट
फागुन ८,कालीकोट ।
देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा धेरै छ । तर दूरदराजका गाउँमा भने चर्चा नुनको छ । कालीकोटमा ११ के.जी नुन पाउन एक व्यक्तिले २ हाजर देखि २५ सय रुपैयाँ सम्म खर्च गर्नुपर्ने अवस्था छ । नुन लिन नागरिकताको फोटाकपी बुझाउनुपर्ने बाध्यता कालीकोटे जनताको छ। जिल्लाका नगरपालिका र गाउँपालिकालाई लक्षित गरी स्थानीय नागरिकलाई नागरिताको भरमा प्रतिब्याक्ति ११ के.जीनुन दिने गरिएको छ।

कालीकोटको खाँडाचक्र नगरपालिका चौकीका ६२ वर्षिय जगबहादुर शाहीलाई मंगलबार नुन लिन जिल्ला साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालयमा नागरिकता बुझाउनुपर्ने बाध्यता आयो । सामान्य नुन लिनको लागि पनी प्रमाण खोजेको देख्दा उनी दंग परे । डेढ घण्टालाइनमा बसेका उनले नागरिकता नभएपछि नुन नलिएर घर र्फकीए । उनले भने नुन लिन आएको थिए नागरिकता भएन र्फकनु पर्यो । उनी जस्तै धेरैले लाइनमा बसेर नागरिकताको भरमा नुन लिएका छन् ।

पलाँता गाउँपालिकाकी सुसिला बमले २ दिन लगाएर ११ के.जी नुन लिन सदरमुकाम मान्म आवतजावत गर्दा गाडी भाडा र खान खर्च ३ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन्। सिंहदरबारको अधिकार गाउँ–गाउँ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन्।

काठमाण्डौको सिंह दरवार गाउँमा पुग्यो तर दैनिक जसो नखाइ नहुने नुन गाउँमा पुग्न सकेको छैन । नुन लिनकै लागी गाउँबाट सदरमुकाम मान्म जानु पर्ने वाध्यता हटेको छैन । अधिकार सम्पन्न सत्ता सहितको संरचना गाउँमा पुग्दा पनी अझैसम्म नुन लिन सदरमुकामा मान्म धाउनु पर्ने वाध्यता रहेको छ ।

टाढाबाट नुन लिन आएको नुन कम मिल्यो नरहरिनाथ गाउँपालिका लालुका स्थानीय दिपेन्द्र परिवारले भने लालुबाट नुनलिन मान्म पुगेर र्फकदा सम्म अढाइ हजार खर्च भयो । उनी जस्तै गाउँबाट नुन लिन सदरमुकाम पुग्ने नागरिकले अझै सिंहदरबारको अधिकार गाउँमा पुग्न नसकेको अनुभुती भएको छ ।

शुकालीकाकी सरीता शाहीले नुन लिन स्थानीयलाई सास्ती भएको बताइन्। ११ के.जी नुन पशु चौपायालाई खुवाउनु कि आफु खानु नुनको अभावको गुनासो गर्दै शुभकालिकाकी सरीता शाही भन्छिन ‘नुनलिन आउँदा १५–१६ सय रुपैया खर्च हुन्छ, ११ के.जी नुन पाईयो घरमागाई गोरु भेडा छन्। आफु खानेकी पशु चौपायालाई खुवाउने ११ पोका नुन लिनको लागि पनि नागरिकता समेत देखाउनु पदो रहेछ दुःख बढी नुन कम पाइयो ।’

पिठ्युँमा बच्चा च्यापेर नुन लिन आएकी शुभकालिकाकी नान्द्ररा शाहीले भनिन् ‘नुन लिन आउँदा धेरै नुन मिल्दैन्। कति दिन चलाउनु, बजारको नुन महँगो छ।’ उनलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्यो भन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । दश वर्ष अघिसम्म नुन लिन हाट पुग्ने स्थानीय अहिले एक दिन हिँडेर कालीकोटको सदरमुकाम मान्म आउने गरेका छन्।

स्थानीय तहमा नै नुन वितरण भएको भए यती सास्ती नहुने नरहरिनाथका नवीन बिकको भनाई छ । उनले मान्म पुगेर घर फर्कँदा सम्म १६ सय खर्च गरी १०० रुपैयाँको नुन पाउँदा दुःख लागेको सुनाए । मंगलबार नुन लिन मान्म स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड पुगेका उनले भने ‘केही पैसा बचत होला भनेर आयोडिन नुन लिन आएको उल्टै धेरै पैसा खर्च भयो । ११ के.जी नुन लिएर कसरी घर फर्कनु ? उनले प्रश्न गरे ।’

कालीकोटको शुभकालिका, तिलागुफा, महावै, पचालझरना, पलाँता, नरहरिनाथ, सान्नीत्रिवेणीका नागरिकलाई सधैँ नुनको दुःख छ चामल, दाल, घिउ, तेल, चियालगायत उपभोग्य सामान गाउँमै आउने भए पनि ढुवानी समस्याले नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । गाउँका व्यापारीले गाउँमा पु¥याएको ढिके नुन महँगो भएपछि आयोडिन नुन लिन मान्म पुग्ने गरेको स्थानी बताउँछन्।

जिल्ला भरका लागि ३२ सय क्विन्टल नुनको वार्षिक कोटा तोकिएको छ । जसमध्ये रास्कोट नगरपालिकाको लागि १२ सय क्विन्टल नुन आउने गरेको छ । अहिले रास्कोट नगरपालिकाले मात्र नगरपालिका बाट नुन दिने गरेको छ। साल्ट ट्रेडिङका कर्मचारी लालबहादुर बमले कार्यालयको बचाउगर्दै ढुवानीको समस्या र पर्याप्त नुनको कोटा नहुँदा समस्या भएको बताए ।

सदरमुकाम स्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय कालिकोटले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ११ कि.जि बिक्री गर्छ। यो वर्षका लागि ३ हजार ५ सय ४० क्विन्टल नुन खरिदका लागि ठेक्का भएको थियो । हाल १३ सय क्विन्टल नुन गोदाममा रहेको बमले बताए । उनका अनुसार कुनै नागरिकले दोहोराएर आउने अवस्थालाई कमगर्न नागरिकता अनिवार्य बताए ।

नुनकै विषयमा जुम्लाको साल्ट ट्रेडिङमा गत वर्ष तोडफोड भयो । नुन लिन आएका सेवाग्राही र प्रहरीबिच झडप नै भएपछि अहिले जुम्लामा वडा बाटै नुनु वितरण सुरु गरिएको छ ।