असार २५,कालीकोट। बर्षाका कारण आएको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग र कर्णाली करिडोर चार दिनपछि संचालनमा आएको छ । कर्णाली राजमार्गको एसमोड र गगने खोलाको बीचमा पहिरोसँगै आएको विशाल ढुंगा ब्रेकर लगाएर फुटालिएको छ। सडक खुलेपछि खिड्कीज्यूला, दैखोला, हुल्म, कालेखोला, मान्म लगायतका ठाउँमा रोकिएका यात्रुवाहक तथा मालवाहक गाडी गन्तब्य तर्फ लागेका छन् । कर्णाली राजमार्ग हुँदै कालीकोटको पूर्वी भेगसहित जुम्ला, मुगु जाने र सुर्खेततिर झर्ने यात्रुहरु आ–आफ्नो गन्तव्य तिर लागेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।
पहिरो संगै कर्णाली राजमार्गमा आएको ढुंगा दुई दिन लगाएर ब्रेकरले फुटाएपछि मंगलबार दिउँसो ३ बजेबाट राजमार्ग संचालनमा आएको कालीकोटका डीएसपी अर्जुन केसीले बताए । सडक संचालन गर्र्न सुरक्षा अधिकारी सहितको टोली मंगलबार बिहानैदेखि एसमोड गएको थियो । त्यस्तै, वर्षाले अवरुद्ध कर्णाली करिडोरको रेगिंल भीरको पहिरो पन्छाएपछि कर्णाली करिडोर पनि संचालनमा आएको छ ।
यसैबीच, कर्णाली राजमार्गको एसमोडमा विद्युत्को पोल ढलेर चार दिन देखि अवरुद्ध विद्युत् सेवा पनि मंगलबार दिउँसोदेखि संचालनमा आएको छ। पोल ढल्दा कालीकोट सहित जुम्ला र मुगुमा विद्युत् अवरुद्ध भएको थियो । लगातार ३ दिन काम गरेर विद्युतको नयाँ पोल गाडेपछि बिद्युत सेवा सुचारु भएको विद्युत कार्यालय कालीकोटका सूचना अधिकारी जयप्रसाद पाण्डेले बताए। सूचना अधिकारीका अनुसार विद्युतका ५ जना कर्मचारी कार्यालय प्रमुखसहित साइडमा खटिएका थिए ।
karnalipress
२६ असार २०८१, मंगलवार १८:५८